सर्लाहीको इलाका प्रहरी कार्यालय हिरापुरका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) बैद्यनाथ दास तस्करसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेका छन्। घटनासँग जोडिएर सोही कार्यालयमा कार्यरत प्रहरी जवान सन्तोष यादवलाई पनि निलम्बन गरिएको छ।

शुक्रबार बिहान बाहिरिएको टेलिफोन अडियोमा सई दासले एक तस्करसँग तस्करीमा सहयोग गर्ने सर्तमा १८ हजार रुपैयाँ माग गरेको स्पष्ट सुनिन्छ। अडियो सार्वजनिक भएपछि उनलाई तत्कालै जिम्मेवारीमुक्त गर्दै इलाका प्रहरी कार्यालय बरहथवामा झिकाइएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले अडियोका आधारमा प्रारम्भिक छानबिन अघि बढाइएको जानकारी दिँदै हाल दुवैलाई निलम्बन गरिएको पुष्टि गरे।

यसअघि पनि सई दास पर्सा जिल्लामा कार्यरत रहँदा घुस मागेको आरोपमा निलम्बनमा परेका थिए।