लामो खडेरीपछि परेको वर्षाले सर्लाहीसहित मधेश प्रदेशका अधिकांश जिल्लाका किसानहरूलाई ठूलो राहत मिलेको छ। सोमवार दिउँसो परेको झरीले सुक्न थालेको धान रोपाइँ बचाएको छ भने बाँकी खेतमा रोपाइँ सुरु गर्ने वातावरण बनेको छ।

मधेशका धेरैजसो क्षेत्रमा वर्षाको भरमा खेती गरिँदै आएको छ। गत महिनादेखिको खडेरीले खेत सुक्खा रहेका बेला सोमबारको आकाशे वर्षाले कृषकहरूलाई खेतीपातीमा सक्रिय बनाएको हो। विशेषगरी सर्लाहीको चुरे क्षेत्र र पूर्वी भेगका किसानहरू सबैभन्दा बढी प्रभावित थिए।

“मोटर चलाएर रोपाइँ त गर्‍यौं, तर पानी नपरेर धान सुक्न थालेको हरिपूर्वा नगरपालिका–२ का किसान बिलास रायले भने, पानी परेपछि रोपिएको धान जोगियो, अब त बाँकी खेतमा पनि रोपाइँ गर्न सकिन्छ भन्ने आशा पलाएको छ।”

सर्लाहीको ईश्वरपुर, चन्द्रनगर, हरिवन, बागमती, कविलासी, हरिपुर र लालबन्दी नगरपालिकाका अधिकांश क्षेत्रमा सोमबार भारी वर्षा भएको थियो। यी सबै ठाउँमा सिँचाइको भरपर्दो पूर्वाधारको अभाव छ। किसानहरू आकाशे वर्षामै निर्भर छन्।

कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पनि वर्षाले राहत मिलेको बताए। “चुरेबाट खोलाको मुहानमा पानी आएको छ,” उनले भने, “अब कुलोबाट सिँचाइ गर्न सम्भव छ। यसले बाँकी खेतमा रोपाइँको गति बढाउनेछ।”

उनका अनुसार सर्लाहीको उत्तर भेगमा विशेष गरी आकाशे वर्षाको भरमा खेती हुने भएकाले खडेरीले धान उत्पादन नै संकटमा परेको थियो।

चुरे पहाडबाट बग्ने बाँके, फूलजोर, कालिन्जोर, लखन्देही जस्ता खोलाहरूमा पानी बढेको छ। खोला सुक्न थालेको अवस्थामा अहिले पानी चल्न थालेपछि किसानहरू कुलोमार्फत खेतमा पानी लैजान थालेका छन्।

लालबन्दी नगरपालिका–१६ परवानीपुरका किसान दिलबहादुर थापाले भने, “आकाशे पानी नपरेको भए यस वर्ष धान उत्पादन शून्यजस्तै हुने थियो। खोला सुकिसकेको थियो। पानी परेपछि फेरि आशा पलाएको छ।”

वर्षासँगै मधेश प्रदेशमा केही दिनदेखि जारी अत्यधिक गर्मी पनि केही घटेको छ।

मधेशका जिल्लाहरूमा सिँचाइ पूर्वाधार अझै कमजोर छ। विगत केही वर्षयता सिँचाइका आयोजनाहरू विस्तार भए पनि पर्याप्त नहर प्रणालीको अभाव, बाढीको जोखिम, र मोटरपम्प प्रयोग गर्नका लागि बिजुलीको अस्थिरताले किसानहरूलाई समस्या बनाउँदै आएको छ।

सोमबार परेको झरीले तत्काललाई राहत दिएको भए पनि दीर्घकालीन समाधानका लागि सिँचाइ पूर्वाधारको मजबुतीकरण अपरिहार्य भएको किसान र कृषि विज्ञहरू बताउँछन्।