सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ लघुवा क्षेत्रमा कृषकहरूले खेतमा सिचाइका लागि लगाइएको पानी तान्ने मोटर चोरी हुने थालेको छ । २४ घण्टाको अन्तरालमा दुईवटा सिंचाइ मोटर चोरी भएको छ।

स्थानीय किसान राधे रायका अनुसार रातिको समयमा खेतमा जडान गरिएका मोटर अज्ञात व्यक्तिहरूले चोरी गरेका हुन्। हाल बर्षा नपरेपछि किसानहरू रातिको समयमा खेतमा सिंचाइका लागि मोटर चलाउने गरेका छन्। यही मौकाको फाइदा उठाउँदै चोरीको घटना बढ्दै गएको किसानहरूको भनाइ छ।

यसअघि पनि सोही क्षेत्रका अर्का किसान रामबाबु रायको मोटर चोरी भएको थियो। केही महिना अगाडि स्टेट बोरिङका लागि राखिएका दुईवटा ट्रान्सफर समेत चोरी भइसकेका छन्।

लगातार बढ्दै गइरहेका यस्ता चोरीका घटनाले किसानहरू त्रसित छन्। उनीहरूले रातिमा खेतमा काम गर्नसमेत डर लाग्ने अवस्था सिर्जना भएको बताएका छन्।

स्थानीयवासीले चोरी नियन्त्रणका लागि प्रशासनको तत्काल ध्यानाकर्षण गराएका छन्।