सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, कामदमा आज दिउँसो एक सय वर्ष पुरानो घर भत्किँदा छ वर्षीय बालकको ज्यान गएको छ।

स्थानीय गौतम माझीका छोरा अरुण माझीको मृत्यु भएको हो। मानव बस्तीको प्रयोगबाट हटिसकेको, भग्नावशेष अवस्थामा रहेको नवीन सिंहको पुरानो घर भत्किँदा उनी त्यसै घरभित्र खेलिरहेका बेला माटो र इँटाले बनेको संरचना च्यापिएर घटनास्थलमै मृत्युवरण गरेका हुन्।

स्थानीयका अनुसार सो घरमा सशस्त्र द्वन्द्वको समयमा (२०६२ सालतिर) नवीन सिंहको परिवार काठमाडौं सरेपछि २० वर्षदेखि मान्छे बस्न छाडिएको थियो। घर सुनसान भएपछि त्यहाँ वरपरका बालबालिका खेल्ने थलो बनेको थियो।

मृतक बालकका नातेदार ऋतुराज ऋषी (मुसहर) का अनुसार अरुणसहित अन्य बालबालिका पनि उक्त घरमा खेलिरहेका थिए। सम्भावित थप बालबालिका पनि पुरिएको हुन सक्ने आशङ्कामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा डोजर प्रयोग गरेर भग्नावशेष हटाइएको थियो।

तर, थप मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।