उखु किसानहरूले आफूहरूलाई दिन बाँकी रहेको प्रति क्विन्टल ३५ रुपैयाँ अनुदान तत्काल उपलब्ध गराउन माग गरेका छन्। सर्लाहीका किसानहरूले सरकारसँग पटक–पटक अनुरोध गर्दा पनि माग सुनुवाइ नभएको गुनासो गर्दै अब सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

उखु उत्पादक संघ सर्लाहीको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारी (सीडीओ) तुलसी बहादुर श्रेष्ठमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो। ज्ञापनपत्रमार्फत किसानहरूले बाँकी अनुदान निकासाका लागि तत्काल पहल गर्न सरकारसँग आग्रह गरेका छन्।

साउन २० गते दिउँसो ३ बजे  जिल्ला स्थित रहेका  चीनी उद्योगको गेट अगाडि प्रदर्शन गर्ने र भाद्र ८ गते देखी काठमाडौं माइतीघर मण्डलामा धर्ना तथा बिरोध कार्यक्रम समेत सार्वजनिक गरेको छ।

ज्ञापनपत्र बुझाउने टोलीमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह, गोडैता नगर प्रमुख देवेन्द्र प्रसाद यादव, बलरा नगरपालिका प्रमुख रमाशंकर कुशवाहा, रामनगर गाउँपालिका अध्यक्ष राजाबाबु यादव तथा उखु उत्पादक संघ सर्लाहीका कार्यवाहक अध्यक्षलगायतको सहभागिता रहेको थियो।