सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडकखण्डमा स्कुल बसबाट लडेर एक बालकको ज्यान गएको छ । आज साझ बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको ग १ ख ९५६८ नम्बरको कायाकल्प एकेडेमीको बसबाट १३ वर्षीय फैजान शेख लडेर गम्भीर घाइते भएका थिए। फैजान सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका छोरा तथा सोही एकेडेमीमा कक्षा ३ मा अध्ययनरत थिए।
दुर्घटनाको समयमा बालक चलिरहेको बसको ढोकामा उभिएका थिए। ढोकाबाट लडेर घाइते भएपछि उनलाई तत्काल संकटमोचन अस्पताल, बरहथवामा उपचारपछि थप उपचारको लागि नेशनल मेडिकल कलेज, वीरगञ्ज पठाइएको थियो। तर डाक्टरले साझ ७बजे बालकलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटनापछि ईलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी निरीक्षक निरन्जन भट्टराईको कमाण्डमा खटिएको प्रहरी टोलीले बागमती नगरपालिका-१० निवासी २१ वर्षीय राज कुमार यादबलाई नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।