सर्लाहीमा धान खेतीका लागि अत्यावश्यक युरिया मल अभाव हुँदा किसानहरू मारमा परेका छन्। मल नपाउँदा स्थानीय तहमा धान उत्पादन प्रभावित हुने देखिएको छ।

यही समस्याप्रति ध्यानाकर्षण गराउन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मलंगवा नगर समितिले प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ।

नगर समितिका अध्यक्ष धर्मेन्द्र राय ‘टाका’ का अनुसार किसानहरू मलको अभावमा बाध्यतावश भारतबाट महँगो मूल्यमा मल ल्याउनुपर्ने स्थिति छ, जसले किसानमाथि थप आर्थिक बोझ परेको छ। “सर्लाहीका कृषकहरूको पीडा अब सहन सकिने अवस्था छैन, तत्काल मल आपूर्ति सुनिश्चित हुनुपर्छ,” अध्यक्ष रायले बताए।

ज्ञापनपत्रमार्फत अनेरास्ववियुले कृषकलाई पारदर्शी ढंगले मल वितरण गर्न, डिलरमार्फत आएको परिमाण सार्वजनिक गर्न तथा हालसम्म जिल्लामा आएको मलको तथ्याङ्क एक साताभित्र सार्वजनिक गर्न माग गरेको छ।