लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) जिल्ला कार्यसमिति सर्लाहीको निर्धारित कार्यक्रमअनुसार आज कौडेना गाउँपालिका, गोडैता नगरपालिका र बरहथवा नगरपालिकामा पालिका स्तरीय अधिवेशन तयारी बैठक सम्पन्न गरिएको छ।

बैठकमा भदौ मसान्तभित्र अनिवार्य रुपमा वडा अधिवेशन र असोज मसान्तभित्र पालिका अधिवेशन सम्पन्न गर्नुपर्ने निर्णय गरिएको छ। यसै विषयमा सहभागीहरूबीच विस्तृत छलफल र विचारविमर्श गरिएको लोसपाले जनाएको छ।

उक्त तयारी बैठकमा पार्टीका केन्द्रीय महासचिव युवा नेता मनिष मिश्र, केन्द्रीय सदस्यहरू रामहरि तिवारी, मनोज सिंह, प्रमोद गुप्ता लगायतको विशेष उपस्थिति रहेको थियो। सोही अवसरमा जिल्ला अध्यक्ष रामप्रसाद यादव, जिल्ला सचिव मिथलेश यादव, उपाध्यक्षहरू लक्ष्मण यादव र नागेश्वर यादव, जिल्ला कोषाध्यक्ष विनेश दास, जिल्ला सदस्यहरू राजाराम साह, मुकेश झा, प्रदेश सदस्य प्रकाश गुप्ता, सचिन्द्र झा, युवा नेता रंजित ठाकुरलगायत नेताकार्यकर्ता र निर्वाचित जनप्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

लोसपाले तोकेको समयसीमाभित्र अधिवेशन सम्पन्न गरी संगठनलाई थप सबल र सशक्त बनाउन सबै तहका नेताकार्यकर्ताले प्रतिबद्धता जनाएका छन्।