लोकतान्त्रिक समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमिति सर्लाहीको निर्धारित कार्यक्रमअनुसार शनिवार  रामनगर गाउँपालिका, विष्णु गाउँपालिका र बलरा नगरपालिका गरी तीन पालिकामा पालिका स्तरीय अधिवेशन तयारी बैठक सम्पन्न गरिएको छ ।

बैठकमा भदौ मसान्तभित्र वडा अधिवेशन र असोज मसान्तभित्र पालिका अधिवेशन अनिवार्य रुपमा सम्पन्न गर्नुपर्ने विषयमा छलफल तथा विचारविमर्श गरिएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय महासचिवद्वय अभय सिंह र मनिष मिश्र, केन्द्रीय सदस्य रामहरि तिवारी, मनोज सिंह, सुरेन्द्र तिवारी, सुशील मिश्र, केदार सिंह, वैदेहि साह, विरेन्द्र साह, अरविन्द सिंह, प्रदेश कार्यकारिणी सदस्य शुभनरायण साह, डा. वीरवंश बैठा लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी जिल्ला कार्यसमितिका अध्यक्ष रामप्रसाद यादव, जिल्ला सचिव मिथलेश यादव, सह–सचिव हिमांशु सिंह, रामनगर गाउँपालिकाका अध्यक्ष रामपत राय लगायतका स्थानीय अगुवा नेता, कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिहरू समेत सहभागी थिए ।

जिल्लामा २० वटा पालिकामध्ये हालसम्म ११ वटा पालिकामा अधिवेशन तयारी बैठक सम्पन्न भइसकेको छ । बाँकी रहेका ९ वटा पालिका -हरिवन, बागमती, कविलासी, मलंगवा, पर्सा, हरिपुर्वा, बसवरिया, ब्रहम्पुरी र चक्रघट्टामा समेत यथाशीघ्र तालिका सार्वजनिक गरी अधिवेशन तयारी बैठक सम्पन्न गरिने जिल्ला सचिव मिथलेश यादवले जानकारी दिए ।