सरकारले सर्लाहीको बलरा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेपछि गोडैतासहितका स्थानीय निकाय र जनप्रतिनिधिहरूले आपत्ति जनाएका छन्।

२०८२ भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले गोडैता, विष्णु, बलरा, रामनगर र धनकौल गरी पाँच वटा पालिकाका लागि बलरामै इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो। तर सो निर्णयले जनताले सहज ढंगले सेवा–सुविधा पाउन नसक्ने भन्दै गोडैतामा कार्यालय स्थापना गर्न माग गरिएको छ।

ध्यानाकर्षण पत्रमार्फत सांसद वीरन्द्र प्रसाद सिंह, सांसद फकीरा महतो, गोडैता नगरपालिकाकी उपप्रमुख अञ्जना कुशवाहा, विष्णु गाउँपालिकाका उपाध्यक्ष जवाहर राय र धनकौल गाउँपालिकाका उपाध्यक्ष रामप्रसाद साहलगायतले संयुक्त रुपमा गृहमन्त्रीसमक्ष कार्यालय गोडैता–७ मा स्थापना गर्नुपर्ने माग गरेका हुन्।

तिनीहरूका अनुसार भौगोलिक, जनसंख्या र सुरक्षा दृष्टिकोणले गोडैता सबैभन्दा उपयुक्त स्थान हो। साथै, भारतसँग सीमा जोडिएको संवेदनशील क्षेत्र भएकाले पनि कार्यालय गोडैतामै हुनुपर्ने उनीहरूको तर्क छ।