मन्त्रिपरिषद्ले २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ, जसअन्तर्गत सर्लाहीको बलरा नगरपालिकामा पनि कार्यालय स्थापना हुने भएको छ। तर केही नेताहरूले कार्यालय गोडैतामा हुनुपर्ने माग राखेपछि यस विषयमा बहस सुरु भएको छ।

बलरा नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले फेसबुक मार्फत भनाई जारी गर्दै इलाका प्रशासन कार्यालय बलरामै हुनुपर्नेमा जोड दिएका छन्। उनले सीमावर्ती क्षेत्रमा कार्यालय स्थापना गर्न नहुने भन्ने तर्कलाई “दृष्टिकोणको कमजोरी” भन्दै अस्वीकार गरेका छन्।

उनका अनुसार बलरा र रामनगर गाउँपालिका सदरमुकाम मलंगवाबाट सबैभन्दा टाढा पर्छन्, जसकारण प्रशासनिक सेवा नजिक ल्याउन बलरामै उपयुक्त स्थान हो। उनले भने, “जनतालाई भ्रममा पारेर सडकमा उतार्नु समाधान होइन, सहकार्य र सहमतिको बाटो रोज्नु नै बुद्धिमानी हो।”

नगर प्रमुख कुशवाहाले गोडैता पक्षका माग व्यावहारिक नदेखिएको दाबी गर्दै, बलरामै इलाका प्रशासन कार्यालय स्थापना हुनु सबै स्थानीय तहलाई पायक पर्ने निर्णय हुने बताएका छन्।

उनले उदाहरण स्वरूप धनकौलमा पूर्वमन्त्री विरेन्द्र प्रसाद सिंहद्वारा स्थापना गरिएको अस्पताललाई स्मरण गर्दै भने, “त्यो अस्पताल सम्पूर्ण क्षेत्रका नागरिकलाई समान रूपमा पायक नपरे पनि आवश्यकताको आधारमा स्थापना भएको थियो, त्यसरी नै आज बलरामै कार्यालय स्थापना हुनु जरुरी छ।”

बलरा नगरपालिकाले सहकार्य, समन्वय र संवादका माध्यमबाट कार्यालयको स्थान चयन गर्ने तयारीमा रहेको जनाएको छ।