आगामी भदौ २० र २१ गते (सेप्टेम्बर ५–६, २०२५) सर्लाहीको मलंगवामा हुने नेपाल जेसीज क्षेत्र “क” सम्मेलनको तयारी लगभग ९० प्रतिशत पूरा भएको आयोजकले जानकारी दिएका छन्।

बुधबार मलंगवामा आयोजित पत्रकार सम्मेलनमा,सम्मेलन निर्देशक जेसी बिभाष कुमार कर्णले सम्मेलन भव्य रूपमा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा भइसकेको बताएका छन्। उनले सम्मेलनमा करिब ४७ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान रहेको पनि जानकारी दिए।

मलंगवा स्थित मलंग बाबा मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा यसको मुख्य उद्देश्य धार्मिक पर्यटन प्रवर्द्धन गर्दै मलंगवाको राष्ट्रिय स्तरमा पहिचानलाई उचाल्नु रहेको आयोजकहरूले बताएका छन्।

नेपाल जेसीजका अध्यक्ष प्रविन गुप्ता, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश ठाकुर, बन्धना झा र पूर्व जेसी अध्यक्ष मुकेश कुमार मिश्रलगायतको उपस्थिति रहनेछ।

क्षेत्र “क” अन्तर्गत ४५ भन्दा बढी शाखाका प्रतिनिधिहरू सहभागी हुने सम्मेलनमा नेतृत्व विकास, व्यवसाय प्रवर्द्धन, सामाजिक उत्तरदायित्व र युवा सशक्तिकरणका विषयमा गोष्ठी, तालिम र छलफल सञ्चालन हुने आयोजकहरूले जनाए।

मलंगवा जेसीजका मिडिया कोअर्डिनेटर समीर मिकरानीका अनुसार सम्मेलनमा १५०० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ।