नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दिपावली तथा पवित्र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । जिप्रका सभाहलमा आयोजित अवसरमा “बदलिँदो अवस्थामापत्रकारको भूमिका” विषयक अन्तरक्रिया समेत गरिएको थियो ।

नेपाल पत्रकार महासंघ सर्लाही अध्यक्ष ओम  प्रकाश ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष राजेश मिश्रले पत्रकारिता अझै जनमुखी र डिजिटल दुवै रूपमै विश्वसनीय बन्नुपर्ने आवश्यकता औंल्याउँदै अपुष्ट समाचारलाई टाढा राख्दै सत्य, तथ्यमा आधारित पत्रकारिता गर्नुपर्नेमा  जोड दिनुभयो ।

यसै क्रममा केही दिनअघि पत्रकारमाथि भएको दुर्व्यवहारलगायत घटनाबारे गहन छलफल भएको थियो । सहभागीहरूले जिल्लामा पत्रकारिताको क्षेत्रमा देखिएका विभिन्न समस्या, चुनौती र समाधानका उपायसमेतमा विचार–विमर्श गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, सशस्त्र प्रहरी उपरिक्षक देव बहादुर चन्द , नेपाल प्रहरी नायव उपरिक्षक सरोज राई, नागरिक समाजका अध्यक्ष उग्रकान्त झा, महासचिव शिवचन्द्र चौधरी, लगायत जिल्लाभरिका सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ सर्लाहीले सबै सहभागीप्रति आभार प्रकट गर्दै प्राप्त सुझावलाई पत्रकारिता सुदृढीकरणमा मार्गदर्शक बनाउन प्रतिबद्धता व्यक्त गरेको छ ।