सर्लाहीको चुरेवर्ती क्षेत्रका किसानले लगाएको सँठिया मकैमा फौजी किराको प्रकोप देखिएको छ ।

किराले मकैको पात खाएर बोट ठुटो पारेको किसानले गुनासो गरेका छन् । चुरेवर्ती क्षेत्रका किसानको बारीमा अहिले कोदो, मास, बोडीसँगै सँठिया मकै हुर्किरहेको छ ।

अन्य बालीमा फाट्टफुट्ट मात्रै देखिए पनि मकैमा भने अत्यधिक मात्रामा फौजी किराको प्रकोप देखिएको किसानको भनाइ छ । ईश्वरपुर नगरपालिका–१२, घारिबथानका किसान वुद्धिलाल घिसिङले विगत चार/पाँच वर्षदेखि यो समयको मकै बालीमा फौजी किराले क्षति पुर्याइरहेको जानकारी दिए ।

बारम्बार किटनाशक औषधि प्रयोग गर्दा पनि फौजी किराको प्रकोप नियन्त्रण गर्नै नसकिएको उनले बताए । सर्लाहीमा लालबन्दी, ईश्वरपुर, हरिवन र बागमती नगरपालिकाको चुरेवर्ती क्षेत्रमा फौजी किराको प्रकोप फैलिएको हो ।

फौजी किराले बोट नै ठुटो पार्ने गरेकाले मकै उत्पादनमा वर्षेनि कमी आउन थालेको किसानले गुनासो गरेका छन् । कतिपय किसानले जति पटक औषधि छिट्दा पनि फौजी किराले मकैको पात काट्न नछाड्दा औषधि छिट्नै छाडेका छन् ।

लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले चुरेका पाखो बारी र चुरेफेदीमा फौजी किराले बढी दुःख दिने गरेको बताए । उनले चुरेवर्ती क्षेत्रका किसानलाई फौजी किरा चूनौतिकै रुपमा देखा परेको बताए ।

औषधि प्रयोग गर्दा केही मात्रामा किरा मर्ने गरेपनि केही दिनपछि फेरि उस्तै गरी फैलने गरेको उहाँको भनाइ छ । पानी परेको समयमा फौजी किरा हराउने गरे पनि घाम लाग्न थालेपछि किरालाई अझ अनुकूल मौसम हुने कृषि प्राविधिकले बताएका छन् ।