सर्लाहीको दुर्गम भेगमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा बस सञ्चालनका लागि खोलाको बाटो मर्मत गर्न सुरु गरिएको छ ।
दशैँ पहिले नै बस सञ्चालन गर्ने तयारीसहित खोलाको बाटो मर्मत गरिएको भएपनि दुई पटक बाढी आएर बाटो बगाएको बस व्यवसायीले बताएका छन् । लालबन्दी बजारबाट पत्थरकोटसम्म सडक पुगेपनि त्यहाँदेखि नारायणखोलातर्फ जान भने खोलाको बगर प्रयोग गर्नुपर्ने बाध्यता छ ।
हिउँदका महिनाभर खोलाको बगरबाट बस, बोलेरोलगायतका सवारी साधनले यात्रु ओसार्ने गरेका छन् । खोलामा बाढी आउन थालेपछि भने यातायातका साधन ठप्प हुने गरेको छ ।
स्थानीय दैनिक उपभोग्य वस्तु खरिद गर्न र औषधि उपचारका लागि लालबन्दी बजार आउनुपर्दा पत्थरकोटसम्म चार/पाँच घण्टा पैदल हिँड्न बाध्य हुन्छन् । लालबन्दी १४ नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले मनसुन बाहिरिएर वर्षा रोकिएसँगै हिजोबाट दुईवटा जेसिबी प्रयोग गरी खोलामा बाटो बनाउन सुरु गरिएको जानकारी दिए ।
दुई÷तीन दिनभित्रै खोलाको बाटो बनाएर तिहारमा सहज हुने गरी बस सञ्चालनको तयारी रहेको वडाध्यक्ष घिसिङको भनाइ छ । बस व्यवसायीसमेत रहेका घिसिङले वडा कार्यालय र बस व्यवसायीले खर्च बेहोर्ने गरी खोलाको बाटो बनाउन सुरु गरिएको बताए ।
पत्थरकोटबाट लखन्देही खोला हुँदै केही किलोमिटर उत्तरतर्फ गएपछि नारायणखोलाको पश्चिमी भेगमा डाइनीखोला र पूर्वी भेगमा लखन्देही खोला भएर आवतजावत गर्नुपर्ने हुन्छ । नारायणखोलामा बस सञ्चालन हुन थालेपछि सिन्धुलीको मरिणका स्थानीयसमेत किनमेलका लागि लालबन्दी बजार आउने गरेका छन् ।
सडक नपुगेको लालबन्दी नगरपालिका–१५, शीर कालिन्जोर र ईश्वरपुर नगरपालिका–१२, पिपलदमार क्षेत्रमा पनि पानी पर्न रोकिएसँगै खोलाको बाटो बनाएर बस तथा अन्य सवारी साधन जसोतसो गुडाउन थालिसकिएको  यातायात व्यवसायीले बताएका छन् ।