सर्लाही जिल्लाका विभिन्न स्थानमा आइतबार राति भएका छुट्टाछुट्टै तीनवटा आगलागीका घटनामा करिब दुई करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको छ । चक्रघट्टा गाउँपालिका–५ मा भएको हो। स्थानीय श्याम सुन्दर रायको घरमा विद्युत् तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

आगलागीबाट घरभित्र रहेका कपडा, टेबल पंखा र नगद रु. २५ हजारसहित करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।

इलाका प्रहरी कार्यालय चक्रघट्टाका प्रहरी सहायक निरिक्षक श्याम बिनय प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याएको थियो। सो घटनामा कुनै मानवीय वा चौपाय क्षति भएको छैन।

दोस्रो ठूलो आगलागी लालबन्दी नगरपालिका–५ मेजरगञ्ज स्थित किराना गोदाममा भएको हो।

उक्त गोदाम लालबन्दी–७ बस्ने कैलाश साहको स्वामित्वमा रहेको गोदामा आगलागी भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरिक्षक बिरेन्द्र सिंह जोहारीको कमाण्डमा प्रहरी, नेपाली सेना र स्थानीयवासी गरी करिब २० जनाको टोली घटनास्थलमा खटिएको थियो।

पाँच कुमारी आर्मी ब्यारेकको वारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको हो।

उक्त गोदाममा करिब रु. २ देखि ३ करोड बराबरका किराना सामान जलेर नष्ट भएका छन्। आगलागीको कारण भने खुल्न सकेको नसकेको प्रहरीले जनाएको छ । तेस्रो आगलागी कबिलासी नगरपालिका–१ पिपरियामा भएको हो।

स्थानीय बब्लु मण्डलको दुईतले घरमा दीपावलीको अवसरमा बालेको दियोबाट आगो सल्किएको बताइएको छ । आगोले घरको माथिल्लो भागसहित कपडा, फर्निचर, नगद ३० हजार रुपैयाँ, सुन १ तोला र चाँदी १० तोलासहित करिब ४ लाख ३० हजार रुपैयाँबराबरको क्षति गरेको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट हेमपुर पचगछियाका प्रहरी हवलदार संजय यादवको कमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याएको थियो।

तीनै घटनामा प्रहरीले स्थानीयवासीको सहयोगमा समयमै आगो नियन्त्रणमा ल्याएको र कुनै मानवीय वा चौपाय क्षति नभएकोजिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।