रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक बुधबार बिहान यात्रुवाहक बसमा आगलागी हुँदा बस पूर्णरूपमा जलेर नष्ट भएको छ।

बस सञ्चालकका अनुसार आगलागीबाट करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

काठमाडौँबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७ः२० बजे ब्याट्रीको तार सर्ट भएर आगो लागेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार बसको ब्रेक जाम भई तार सर्ट भएपछि आगलागी भएको हो।

बस रोकिएलगत्तै यात्रुहरू समयमै बाहिर निस्कन सफल भएकाले मानवीय क्षति हुन पाएन।

घटनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा बारुण यन्त्र प्रयोग गरी आगो करिब सवा ८ बजे नियन्त्रणमा लिइएको डिएसपी लाबुङले जानकारी दिइन्।

आगलागीका कारण केही समयका लागि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भए पनि अहिले सवारी आवागमन सहज बनेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।