काली पूजाको पवित्र अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएका मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले समाजमा सकारात्मक सोच र सहिष्णु मनोवृत्तिको अत्यन्त आवश्यकता रहेको बताउँदै सबै समुदायलाई त्यसको प्रवाहका लागि एकजुट हुन आग्रह गर्नुभयो।

मुख्यमन्त्री सोनलले आफ्नो सम्बोधनमा भन्नुभयो, “सकारात्मक सोचले मात्र जातपात, छुवाछूत र भेदभावजस्ता गहिरा सामाजिक कुरीतिहरूलाई अन्त्य गर्न सकिन्छ। समाज रूपान्तरणको लागि सोच परिवर्तन अपरिहार्य छ।” उहाँले सचेत नागरिकहरूले सही बाटो पहिचान गर्दै समाजलाई समावेशी, समान र न्यायपूर्ण दिशामा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको अवसरमा मुख्यमन्त्री सोनलले पूजा आयोजन समिति र समाजसेवामा अग्रणी भूमिका निर्वाह गर्दै आउनुभएका स्थानीय अगुवाहरूलाई सम्मान समेत गर्नुभयो।

कार्यक्रममा लोसपाका नेता अजय झा, सुशील राउत, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा ठूलो संख्यामा स्थानीय बासिन्दाको भव्य उपस्थितिले माहोललाई झनै उत्साहपूर्ण बनाएको थियो।