सर्लाहीको नवलपुरदेखि पूर्वतर्फको भागमा आज बिहानैदेखि बिजुली अवरुद्ध रहेको छ ।

लालबन्दी र नवलपुरको बिचमा पर्ने बागवानी जंगलमा फल्ट हुँदा लालबन्दी, रानिगन्ज, पत्थरकोट, नारायणखोला, रानिगन्ज, परवानीपुर, घारिबथानलगायत क्षेत्रमा बिहानैदेखि बिजुली अवरुद्ध भएको हो । बिजुली नहुँदा बिजुलीबाट हुने सबै काम ठप्प भइरहेको छ ।

छठ बिदापछि खुलेका बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयलाई बत्ती नहुँदा सेवा दिन समस्या परिरहेको छ । नेपाल विद्युत प्राधिकरण लालबन्दी लालबन्दी वितरण केन्द्रका कर्मचारी दीप चौलागाईंले बागवानी जंगल क्षेत्रमा फल्ट देखाइरहेको तर समस्या पत्ता लगाउनै नसकिएको  बताए । उनले प्रत्येक पोलमा चढेर फल्ट आएको ठाउँ पत्ता लगाउन ६÷७ जना प्राविधिक खटिरहेका जानकारी दिए ।

फल्ट भएको ठाउँ पत्ता लगाउन सके १०/१५ मिनेटमै मर्मत गर्न सकिने तर समस्या भएको ठाउँ नै नभेट्टाउँदा हैरानी भइरहेको चौलागाईंको भनाइ छ । राति यस क्षेत्रमा हावाहुरीसहित हल्का वर्षा भएको थियो । अहिले पनि जिल्लाको मौसम धुम्मिने र कतकतै पानी छिट्याउने भइरहेको छ ।