लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) जिल्ला कार्यसमिति सर्लाहीले पार्टीको टिकटबाट निर्वाचित पाँच जना जनप्रतिनिधिलाई लिखित स्पष्टीकरण सोधेको छ।

मलंगवास्थित जिल्ला पार्टी कार्यालयमा जिल्ला अध्यक्ष रामप्रसाद राय यादवको अध्यक्षतामा कार्तिक ९ गते बसेको बैठकले सम्बन्धित जनप्रतिनिधिहरूले आफ्ना वडामा पार्टी संगठन कमजोर पार्दै अन्य दलका गतिविधिमा संलग्न भएको र पार्टीका औपचारिक बैठकहरूमा समेत सहभागी नभएको गुनासो प्राप्त भएकाले लिखित स्पष्टीकरण माग्ने निर्णय गरेको हो।

बैठकले पत्र प्राप्त भएको वा जानकारी भएको मितिले तीन (३) दिनभित्र जिल्ला पार्टी कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

निर्धारित समयभित्र चित्तबुझ्दो जवाफ नआएमा बैठकको निर्णय अनुसार आवश्यक कडा कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।

स्पष्टीकरण मागिएका जनप्रतिनिधिहरूमा —

१. राकेश सहनी – वडा अध्यक्ष, बरहथवा नगरपालिका–१

२. विजय चौधरी – कार्यपालिका सदस्य, विष्णु गाउँपालिका–३

३. प्रेमलाल साह – वडा सदस्य, विष्णु गाउँपालिका–३

४. विरेन्द्र राउत – वडा सदस्य, विष्णु गाउँपालिका–१

५. मनतोरिया देवी – वडा सदस्य, विष्णु गाउँपालिका–१

समेत रहेका छन्।

जिल्ला सचिव मिथलेश यादवका अनुसार, पार्टीको संगठनात्मक शिस्त मजबुत पार्न र आन्तरिक अनुशासन कायम गर्न बैठकले यस्तो निर्णय गरेको हो। उनले सम्बन्धित जनप्रतिनिधिहरूले समयमै स्पष्टीकरण बुझाउने विश्वास व्यक्त गरे।