सर्लाही जिल्लाको बिष्णु गाउँपालिका–२ पकरीमा जातीय तनावको स्थिति उत्पन्न भए पनि लोकान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको महासचिव मनिष कुमार मिश्रको पहल र समन्वयबाट ठूलो घटना हुनबाट जोगिएको छ।

स्थानीय युवाबीच मोबाइलमा फोटो खिच्ने विषयलाई लिएर विवाद सुरू भई अभिभावक तहसम्म पुग्दा परिस्थिति तिव्र बन्दै तेली–यादव समुदायबीच जातीय द्वन्द्वको रूप लिएको थियो। स्थिति नियन्त्रण बाहिर जाने संकेत पाइएपछि स्थानीयमा त्रास फैलिएको थियो।

तर जिल्ला प्रहरी कार्यालय मलंगवाको सहकार्यमा मिश्रको सक्रिय पहलपछि दुवै पक्षका अगुवा र समाजसेवीहरूलाई एउटै मञ्चमा ल्याई चित्त बुझाइ र आपसी सहमतिमार्फत विवाद समाधान गरिएको हो।

मिश्रको यो कदमले पकरी र आसपासका क्षेत्रका बासिन्दामा एकता, सद्भाव र शान्तिपूर्ण सहअस्तित्वको सन्देश फैलाएको छ। स्थानीयहरूले मिश्रको पहललाई “उदाहरणीय र अनुकरणीय प्रयास” भन्दै प्रशंसा गरेका छन्।