सर्लाही – जिल्ला समन्वय समिति सर्लाहीकी सदस्य स्व. सोनावती देवी बैठकको असामयिक निधनप्रति समिति परिवारले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

स्व. बैठकको निधन २०८२ कार्तिक १४ गते भएको थियो। समितिले जनाएको छ कि उहाँको निधनले जिल्लाको सामाजिक, राजनीतिक र समन्वय क्षेत्रमा अपूरणीय क्षति पुगेको छ।

जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले स्व. बैठकको योगदान सधैं प्रेरणादायी रहने बताएर उहाँको आत्माको चिरशान्तिको कामना गरेका छन्। “स्व. सोनावती देवी बैठक सामाजिक सेवामा समर्पित व्यक्ति थिइन्। उहाँको निधनले जिल्ला एक सक्रिय र निष्ठावान् जनप्रतिनिधि गुमाएको छ,” उहाँले भने।

समितिले स्व. बैठकको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दु:ख सहने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ। कार्यक्रममा उप्रमुख जितेन्द्र कुशवाहा, संविधानसभा सदस्य शमभु पासवान, समिति सदस्य र कर्मचारीहरुको उपस्थिती रहेको थियो।