लालबन्दी नगर वाङमय परिषद लालबन्दीले हरेक वर्ष प्रदान गर्दै आएको स्थानीय प्रतिभा पुरस्कार २०८२ पत्रकार तथा साहित्यकार कृष्ण थपलिया(समर्पण)ले पाउने भएका छन् ।
लामो सयमदेखि पत्रकारितासँग साहित्य सिर्जनामा तल्लीन थपलियालाई नगद २५ हजार राशिको लालबन्दी नगर वाङमय स्थानीय प्रतिभा पुरस्कार २०८२ प्रदान गर्न लागिएको नगर वाङमय परिषदले जनाएको छ ।
पत्रकार थपलिया नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष तथा सूचनाको हकको लागि राष्ट्रिय महासंघ मधेश प्रदेशका महासचिव समेत हुन् । उनी लालबन्दीबाट प्रसारण हुने रेडियो एकताका संस्थापक शेयर सदस्य, संस्थापक स्टेशन म्यानेजर तथा सञ्चालक समितिका पूर्व संस्थापक उपाध्यक्ष समेत हुन् । न्यूज २४, आर्थिक अभियान दैनिक लगायत राष्ट्रिय मिडियामा समेत काम गरिसकेका थपलियाले हाल लालबन्दीबाट चियोचर्चो दैनिक र चियोचर्चो अनलाईन खबर डक कम सञ्चालनमा ल्यएका छन् ।
उनी आफै पनि साहित्य सिर्जना गर्न रुची राख्दछन् । उनका कविता, गीत तथा गजलहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उनले रेडियोमा कार्यरत रहँदा साहित्य बाटिका नाम उत्कृष्ट साहित्यीक रेडियो कार्यक्रम समेत सञ्चालन गरेका थिए ।
त्यस्तै लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८२’ भने रमेश क्षितिजको ‘एउटा मायी नगरमा’ आख्यानलाई प्रदान गर्ने निर्णय गरेको छ । स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट क्षितिजकृत ‘एउटा मायी नगरमा’ आख्यान छनोट भएको हो ।‎ उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ छ । यसअघि अखण्ड भण्डारीकृत बोरा लाई यो पुरस्कार प्रदान गरिएको थियो ।
‎त्यस्तै साहित्यिक सहिद कृष्णलाल अधिकारी स्मृति पुरस्कार–२०८२ साहित्यकार तथा गीतकार दिनेश अधिकारीलाई‎ प्रदान गरिने भएको छ । साहित्यका माध्यमबाट क्रुर जहानियाँ राणा शासनको अन्त्यका लागि होमिँदा होमिँदै सहिद बन्न पुगेका ’मकै’ पुस्तकका लेखक कृष्णलाल अधिकारीको स्मृतिमा पुरस्कार कोषको स्थापना गरिएको र सोही कोषको ब्याजको रकमबाट उक्त पुरस्कार वर्ष २०८१ बाट प्रदान गर्न प्रारम्भ गरिएको परिषद्ले जनाएको छ । ‎
‎नेपाली भाषा तथा साहित्यका क्षेत्रमा दीर्घसेवा गरेका साहित्यकार दिनेश अधिकारीलाई वर्ष २०८२ को उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको परिषद्का अध्यक्ष अच्युत अधिकारीले बताए । उक्त पुरस्कारको राशि पनि ५० हजार रुपैयाँ नै रहेको छ ।