सर्लाहीको हरिपुर नगरपालिका–२ स्थित ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारी तथा ईश्वरपुर नगरपालिकाको समन्वयमा सञ्चालित समुन्नति परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा आज ईश्वरपुर नगरपालिका–९, कुरिनिया टोलमा सरसफाइसम्बन्धी वृहत अभियान सम्पन्न गरिएको छ।

कार्यक्रमको अध्यक्षता वडा नं. ९ का वडा अध्यक्ष नन्दलाल चौधरीले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य उपस्थित रहनुभएको थियो। यस्तै, वडा सदस्यहरू, फोकल शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, विद्यालयका शिक्षक, स्वास्थ्य रूपान्तरण पाठ्यक्रमका सहजकर्ता, लिटिल डाक्टर समितिका सदस्य, बाल क्लब, अभिभावक तथा स्थानीयवासी गरी जम्मा १५४ जना सहभागी थिए।

‘अप्पन गाउँ अपने बनाऊ’ भन्ने मूल नारासहित सुरु गरिएको सफाइ अभियान मेयर आचार्यले उद्घाटन गर्नुभयो। सहभागीहरूले कुरिनिया टोलभरि सरसफाइ सञ्चालन गर्दै हात धुने सही तरिकाबारे व्यवहारिक अभ्यास समेत गरे।

कार्यक्रममा नगर प्रमुख आचार्यले सरसफाइमा सहभागी बालबालिकालाई प्रोत्साहनस्वरूप एक/एक थान कपी र पेन्सिल वितरण गर्नुभयो। उहाँले कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै निरन्तरता दिलाउन आग्रह गर्नुभयो।

वडा अध्यक्ष चौधरीले अभियानले स्थानीय समुदायमा सरसफाइप्रति जागरूकता र व्यवहारिक परिवर्तन ल्याउने बताउनुभयो। यस्तै, सहभागीहरूले घर–आँगन तथा टोल–बस्ती सधैं सफा राख्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानिय बासिन्दाले समुन्नति परियोजनाद्वारा सञ्चालित कार्यक्रम समुदायका लागि अत्यन्तै प्रशंसनीय र प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन्।