सर्लाहीको मलंगवामा लैङ्गिक हिंसा पहिचान तथा सहयोग प्रवाहसम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ। “हाम्रो सहकार्य”नामक कार्यक्रम परियोजनाअन्तर्गत दलित महिला केन्द्र नेपाल र नेपाल दलित सेवा समाजको आयोजनामा, युएन वुमेन को प्राविधिक तथा फिनल्यान्ड सरकारको आर्थिक सहयोगमा मंसिर १० र ११ गते होटल सुजाता प्यालेसमा तालिम सम्पन्न गरिएको हो।

दुई दिने तालिममा संस्थाकी टिम लिडर मलिना महर्जन, दलित महिला केन्द्र नेपालकी मनोपरामर्शदाता दिनानी घिमिरे, जिल्ला प्रशासन कार्यालयका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी फुलमाया गुरौ, एकद्वार संकट व्यवस्थापन केन्द्र प्रमुख श्री प्रसाद साह, तथा ओरेक कार्यक्रम अधिकृत गुन्जा साहले सहजीकरण गरेका थिए।

तालिममा सर्लाहीका ब्रह्मपुरी, बरहथवा, हरिपुर्वा र मलंगवा तथा काभ्रे जिल्लाका दुई महाभारत गाउँपालिका र बनेपा नगरपालिकाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सहभागीलाई समुदायमा देखापर्ने विभिन्न प्रकारका लैङ्गिक हिंसाको पहिचान गर्ने तरिका, पीडितलाई सुरक्षित तथा प्रभावकारी रूपमा सहयोग पुर्‍याउने प्रक्रिया, र हिंसाविरुद्ध सामुदायिक सहभागिताको महत्त्वबारे व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त सीपले स्थानीय तहमा लैङ्गिक हिंसाका घटनाप्रति संवेदनशीलता बढाउन तथा पीडित–मैत्री वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

तालिमको दोस्रो दिन दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक तेजेन्द्र कुमार लामा तथा नेपाल दलित सेवा समाजका बोर्ड सदस्य मनतोरिया पासवानको आतिथ्यतामा सहभागीलाइ प्रमाणपत्र वितरण गरिएको परियोजना मधेश प्रदेश संयोजक सञ्जय मण्डलले जानकारी दिए।

उनका अनुसार नेपाल दलित सेवा समाजका कार्यकारी निर्देशक रामपृत पासवानको नेतृत्वमा संस्था महिलाको उत्थान र न्याय प्रवर्द्धनको क्षेत्रमा लामो समयदेखि सक्रिय रूपमा कार्य गर्दै आएको छ।