सर्लाही — अन्तर धार्मिक सञ्जाल (निरन नेपाल) को आयोजनामा लैङ्गिक हिंसा अन्त्यका लागि धार्मिक अगुवा, नागरिक समाज र स्थानीय सरकारबीच सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार हरिपुर्वा नगरपालिका–५ स्थित नेपाली खाजाघरमा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अन्तर धार्मिक सञ्जाल सर्लाहीका अध्यक्ष डा. अब्दुर रहिम मिकरानीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा हरिपुर्वा नपा–५ का वडा अध्यक्ष चन्द्रभूषण साह, मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक मुकेश मिश्र, महिला मानव अधिकार रक्षक सञ्जालकी लक्ष्मी सुनुवार पासवान, ओरेक कार्यक्रम अधिकृत गुन्जा साह, निरन नेपाल मधेस प्रदेश कार्यक्रम अधिकृत आशिष चौधरी, आरआरपिकेका सुमित चौधरी, बागमती सेवा समाज नेपालका असोक भण्डारी, अधिकारकर्मी दिब्या साह लगायत पत्रकारहरूको उपस्थिती रहेको थियो।

कार्यक्रम वर्ल्ड भिजनको सहयोगमा बागमती सेवा समाज, आरआरपिके, ओरेक नेपाल र एसएनडिसीको संयुक्त सहभागितामा आयोजित गरिएको थियो। स्वागत मन्तव्य अन्तर धार्मिक सञ्जाल हरिपुर्वाका कारी हुसैनले राखेका थिए।

छलफल कार्यक्रममा वडा अध्यक्ष साह, मानव अधिकारकर्मी मुकेश मिश्र, ओरेककी गुन्जा साह, धार्मिक अगुवा गुड्डु झा, बालक्लबकी तरनुम खातुनलगायतले लैङ्गिक हिंसा अन्त्यमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सञ्जालकी अध्यक्ष लक्ष्मी सुनुवार पासवानले गरेकी थिइन्।