रोज़ गार्डेन इंग्लिस बोर्डिङ स्कूल, मलंगवा,३ सर्लाहीले आफ्नो ११औँ वार्षिकोत्सव तथा अभिभावक भेला शुक्रबार भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम श्री बौधी देबीमाई माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व प्राध्यापक उपेन्द्र रायको अध्यक्षतामा तथा मलंगवा नगरपालिका–७ का वडा अध्यक्ष ईशा मिकरानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा बहुप्राविधिक शिक्षालयकी नर्सिङ अधिकृत इशरत खातुन विशिष्ट अतिथि थिइन्। अन्य अतिथिहरूमा बाल कल्याण समाजका अध्यक्ष सुन्दर श्याम राय, वडा सदस्य हरुण मंसुर, मेरो सान टिभीका पत्रकार राजिव साह, देवनारायण आधारभूत विद्यालयका प्रधानाध्यापक नागेन्द्र यादव, अभिभावक विनोद शर्मा, कुशेश्वर माध्यमिक विद्यालय सिन्धुलीका शिक्षक अजय महतो तथा राम गुलाम जनता माध्यमिक विद्यालय भाडसरका शिक्षक राम विश्वस यादवलगायतको उपस्थिति थियो।

विद्यालय सञ्चालक समिति अध्यक्ष संगिता यादवले शिक्षक–शिक्षिकालाई दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरेकी थिइन्। स्वागत मन्तव्य राख्दै विशिष्ट अतिथि इशरत खातुनले विद्यार्थीहरू परिश्रमी, लगनशील र लक्ष्यकेन्द्रित भएर अध्ययन गर्नुपर्नेमा जोड दिइन्। उनले सानो उमेरमै सरकारी सेवासहितका प्रतिस्पर्धात्मक क्षेत्रमा अवसर हासिल गर्न शैक्षिक योग्यता र क्षमताको विकास अपरिहार्य रहेको बताइन्।

२०७१ सालमा स्थापना भएको विद्यालयले वार्षिकोत्सवको अवसरमा उत्कृष्ट विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकालाई सम्मान गरेको थियो। कार्यक्रम विद्यालयका संस्थापक तथा प्राध्यापक रवि कुमार रायले सञ्चालन गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रदर्शन, शैक्षिक गतिविधि र विभिन्न प्रतिभा प्रस्तुति राखेका थिए। साथै अभिभावक–विद्यालय सहकार्य, पाठ्यक्रम सुधार तथा सिकाइ–पढाइको गुणस्तर सुधार सम्बन्धी विषयमा छलफल पनि गरिएको थियो।

अतिथिहरूले विद्यालयले ११ वर्षको यात्रा सफलतापूर्वक पार गर्दै गुणस्तरीय शिक्षातर्फ गरेको प्रयासप्रति प्रशंसा व्यक्त गर्दै निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका थिए।