सर्लाही । बिल भरपाई नभएको ठूलो परिमाणको माछा जिल्ला प्रहरी कार्यालय सर्लाहीले नियन्त्रणमा लिएको छ। बुधबार दिउँसो बागमती नगरपालिका–११ स्थित चेकपोष्टमा सर्लाहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ ख. ६५१२ नम्बरको यात्रुबाहक बसलाई रोकी जाँच गरेको थियो।

जाँचका क्रममा बसको डिक्कीमा लुकाइछिपाइ लैजाँदै गरिएको ६ कार्टुन माछा फेला परेको थियो। प्रति कार्टुन ४० केजीका दरले जम्मा २४० केजी (६ कार्टुन) माछा बरामद गरिएको र सो माछाको अनुमानित मूल्य रु. ६५ हजार बराबर रहेको प्रहरीले जनाएको छ।

माछाको कुनै पनि बिल भरपाई नभएकाले उक्त माछालाई नियन्त्रणमा लिइ आज अपराह्न मलंगवा वर्कशपका प्रतिनिधि, बागमती नगरपालिकाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीहरूको रोहबरमा बागमती नगरपालिका–११ स्थित बागमती नदी किनारमा खाल्डो खनी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।