ब्रह्मपुरी गाउँपालिकाले पाचौं राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०८२ को अवसरमा जेष्ठ नागरिकको सम्मान स्वरूप पालिका भित्रका १०० जना जेष्ठ नागरिकलाई कम्मल,टोपी वितरण गरेको छ । चिसोको समयमा वृद्धवृद्धाहरुलाई केही राहत पुगोस् भन्ने हेतुले विपन्न परिवार सहितका जेष्ठ नागरिकहरूलाई दिवसको अवसर पारेर सम्मान स्वरूप न्यानो कम्बल र टोपी वितरण गरिएको कार्यक्रमका अध्यक्षता गर्नुभएका गाउँपालिका प्रमुख रामपदारथ साहले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनन्जय प्रसाद दासले केही दिन यता बढेको कठ्याङ्ग्रिँदो चिसोले गर्दा ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी समस्यामा परेकाले गरिब, असहाय र विपन्न ज्येष्ठ नागरिकलाई कम्बल लगायतका सामाग्री वितरण गरिएको जानकारी दिनुभयो । अधिकृत दासले सकेसम्म सबै ज्येष्ठ नागरिकलाई यो कार्यक्रममा समेट्न खोजिए पनि सीमित स्रोत साधनका कारण विपन्नमा पनि अति विपन्नको पहिचान गरेर कम्बल प्रदान गर्नुपरेको बताउनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शिवनारायण कापरले दिनुभएको जानकारीअनुसार गाउँपालिकाको वडा १ देखि ७ सम्मका १०० जना विपन्न ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो ।