आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न माग गर्दै सर्लाहीका संघ–संस्थाले ज्ञापन पत्र बुझाएका छन्।

संघ–संस्थाले मलंगवास्थित जिल्ला प्रशासन कार्यालयमार्फत सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाएका हुन्। ज्ञापन पत्रमा नेपालको संविधान, बालबालिका सम्बन्धी ऐन, २०७५, अन्तर्राष्ट्रिय बाल अधिकार महासन्धि, सन् १९८९ तथा निर्वाचन आचारसंहिता, २०८२ ले बालबालिकालाई कुनै पनि राजनीतिक गतिविधि, प्रचार–प्रसार, र्‍याली, जुलुस, पोस्टर टाँस्ने वा मतदाता प्रभावित गर्ने कार्यमा संलग्न गराउन नपाइने स्पष्ट व्यवस्था गरेको उल्लेख गरिएको छ।

यस्ता गतिविधिले बालबालिकाको शारीरिक, मानसिक तथा शैक्षिक विकासमा नकारात्मक असर पार्ने भएकाले निर्वाचन प्रक्रियामा १८ वर्ष मुनिका बालबालिकाको प्रयोग नगर्न जिल्लाभित्रका सम्पूर्ण राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई स्पष्ट निर्देशन जारी गर्न माग गरिएको छ।

ज्ञापन पत्रमा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवार वा सम्बन्धित निकायलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम आवश्यक कारबाही गर्नसमेत आग्रह गरिएको छ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा बाल कल्याण समाज सर्लाहीका अध्यक्ष सुन्दर श्याम राय, मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश मिश्र, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष राजेश पासवान, औपचारिक सेवा केन्द्रका जिल्ला संयोजक बुधन साह, मुक्ति नेपालकी रिना साहलगायत प्रतिनिधिहरूको सहभागिता रहेको थियो।