मलंगवा, सर्लाही । प्रादेशिक अस्पताल मलंगवामा ३१ वर्षीया एक गर्भवती महिलाको उच्च जोखिमयुक्त गर्भावस्थामा सफलतापूर्वक आपतकालीन शल्यक्रिया (LSCS) गरी आमा र नवजात शिशुको ज्यान सुरक्षित राख्न सफल भएको छ।

अस्पतालका अनुसार ३८ हप्ता ६ दिनको गर्भावस्थामा रहेकी ती महिलामा Obstetric Cholestasis, Polyhydramnios, Moderate Anemia तथा Skin Excoriation जस्ता जटिल स्वास्थ्य समस्या देखिएको थियो। आर्थिक अवस्था कमजोर तथा गर्भावस्था उच्च जोखिमयुक्त भए पनि समयमै अस्पतालमा पुगेर संस्थागत स्वास्थ्य सेवा प्राप्त गरेपछि सफल उपचार सम्भव भएको हो।

शल्यक्रियाको क्रममा करिब ३ लिटर एम्नियोटिक फ्लुइड निकालिएको थियो। उक्त शल्यक्रियामार्फत ३ हजार ५५० ग्राम तौल भएको स्वस्थ जीवित छोरा शिशु जन्मिएको अस्पतालले जनाएको छ। नवजात शिशुको Apgar Score क्रमशः ६/१० र ८/१० रहेको थियो।

अस्पतालका चिकित्सकहरूका अनुसार यस्तो जटिल अवस्थामा समयमै आपतकालीन प्रसूति सेवा, दक्ष स्वास्थ्यकर्मीको उपलब्धता, एनेस्थेसिया सेवा, नवजात शिशु स्याहार, रगतको व्यवस्थापन तथा प्रभावकारी अपरेशन थिएटर सेवाले आमा र शिशुको जीवन बचाउन महत्वपूर्ण भूमिका खेलेको छ।

यस सफल शल्यक्रियाले मातृ तथा नवजात स्वास्थ्य सेवाको महत्वलाई थप उजागर गरेको अस्पतालको भनाइ छ। विशेषगरी आर्थिक रूपमा विपन्न तथा उच्च जोखिमयुक्त गर्भवती महिलाका लागि सरकारी अस्पतालमा उपलब्ध गुणस्तरीय स्वास्थ्य सेवा जीवनरक्षक बन्न सक्ने उदाहरणका रूपमा यस घटनालाई हेरिएको छ।

शल्यक्रियामा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सचिन यादव, सहायक सर्जन डा. राहुल कुमार यादव, स्क्रब नर्स ललिता यादव, एनेस्थेसिया इन्स्पेक्टर राकेश यादव तथा OT सहयोगी मीना भुजेल सहभागी रहेका थिए।

अस्पताल प्रशासनले मातृत्व वार्ड, नर्सिङ स्टाफ, एनेस्थेसिया टोली तथा अन्य सहयोगी कर्मचारीहरूको निरन्तर समर्पण र मेहनतका कारण यस्तो सफल परिणाम सम्भव भएको जनाएको छ। साथै सुरक्षित मातृत्व, सम्मानजनक प्रसूति सेवा तथा मातृ–नवजात स्वास्थ्य सुधारप्रति अस्पतालको प्रतिबद्धता कायम रहेको पनि अस्पतालले उल्लेख गरेको छ।