हरिपुर्वा/पर्सा (सर्लाही), जेठ २२ — विश्व वातावरण दिवसको अवसरमा “एक बालबालिका, एक बिरुवा” राष्ट्रिय अभियान सर्लाहीको हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकामा सञ्चालन गरिएको छ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था World Vision International Nepal को आर्थिक सहयोग, Rastriya Rojgar Pravardhan Kendra र Bagmati Sewa Samaj Nepal को साझेदारी तथा स्थानीय तहको समन्वयमा सञ्चालित “बालसमृद्धि र एकीकृत विकासका लागि हातेमालो” परियोजनाअन्तर्गत अभियान सुरु गरिएको हो।

हरिपुर्वा नगरपालिका–९ मा वडा अध्यक्ष सुरेन्द्र महतो कोइरी, मदरसाका मौलाना मोहम्मद जामिल तथा WVI Nepal की जिल्ला संयोजक सीता चौधरीको उपस्थितिमा फलफूलका बिरुवा वितरण तथा अभिमुखीकरण कार्यक्रममार्फत अभियानको उद्घाटन गरिएको थियो। यस्तै पर्सा गाउँपालिकामा गाउँपालिका अध्यक्ष धिरेन्द्र रायसहित जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाको उपस्थितिमा अभियान सञ्चालन गरिएको जनाइएको छ।

अभियानअन्तर्गत हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका ७ हजारभन्दा बढी बालबालिकालाई फलफूलका बिरुवा वितरण गरिनेछ। जलवायु परिवर्तन तथा बढ्दो तापक्रमबाट उत्पन्न चुनौती सामना गर्न बालबालिकालाई वातावरण संरक्षणका गतिविधिमा सक्रिय सहभागी बनाउने अभियानको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

बालबालिकाले घर, विद्यालय तथा समुदायमा वृक्षारोपण गर्नेछन् भने परिवार, शिक्षक, स्थानीय सरकार र सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा वातावरण संरक्षणका गतिविधिलाई प्रभावकारी बनाइने अपेक्षा गरिएको छ। स्थानीय पारिस्थितिकीय प्रणालीअनुकूल बिरुवा छनोटका लागि स्थानीय सरकार तथा जिल्ला वन कार्यालयसँग समन्वय गरिएको परियोजनाले जनाएको छ।

RRPK की GGO अधिकृत सुमोना खनालका अनुसार बालबालिकामा सानै उमेरदेखि प्रकृतिप्रतिको माया, जिम्मेवारीबोध र संरक्षणको भावना विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। बालबालिकालाई वातावरण संरक्षणका दूतका रूपमा विकास गर्दै दीर्घकालीन वातावरणीय अपनत्व प्रवर्द्धन गर्नु अभियानको मुख्य लक्ष्य रहेको उनले बताइन्।

कार्यक्रमलाई प्रभावकारी बनाउन वडा–स्तरीय क्लस्टर गठन गरी RRPK/BWSN का कर्मचारी र स्थानीय PD Hearth स्वयंसेविकाको सक्रिय सहभागितामा बिरुवा वितरण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। यसबाट लक्षित बालबालिकासम्म सहज रूपमा बिरुवा पुर्‍याउन र अभियानलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।