चन्द्रनगर गाउँपालिकाले नेपालमै पहिलो सजिवन (मोरिंगा) सम्मेलन आयोजना गरेको छ ।

औषधिजन्य वनस्पति सजीवनको खेती विस्तार र यसको गुणबारे प्रचारप्रसार गर्ने उद्देश्यले सजिवन सम्मेलन आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले उज्यालो अभियानसँग बताए । चन्द्रनगर गाउँपालिका–२, पर्ती बजारमा शनिबारदेखि सुरु भएको सजिवन सम्मेलन आइतबारसम्म चल्ने छ ।

“स्वास्थ्य, सुपोषित, समृद्ध र सुन्दर परिवारको लागि सजिवन : देश, हरित अर्थतन्त्र, पर्यावरण र प्रकृतिका लागि सजिवन” भन्ने मूल नारासहित चन्द्रनगर गाउँपालिकाले सम्मेलनको आयोजना गरेको हो । सजिवन खेतीको विस्तार र यसको उपयोगिताबारे बुझाउन चन्द्रनगर गाउँपालिकाले वर्सेनि अभियान संचालन गर्दै आइरहेको छ ।

गाउँपालिकाले स्थानीयलाई निःशुल्क रुपमा सजिवनको विरुवासमेत उपलब्ध गराउँदै आएको जनाएको छ । चन्द्रनगर गाउँपालिका–६, गोसबरियाका सुवोधकुमार कर्णले गाउँपालिकाबाट निःशुल्क रुपमा विरुवा लिएर २५० भन्दा बढी सजिवनको विरुवा रोपेको बताए ।

आफूले सजिवनको पातबाट पाउडर बनाएर उपयोग गर्न थालेपछि स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन थालेको कर्णको भनाइ छ । आफूले उत्पादन गरेको सजिवनको पाउडर गाउँघरमा थोरै मात्रामा बिक्रीसमेत हुन थालेको र बजारीकरणका लागि थप सहयोग पुगे आम्दानीको राम्रो स्रोत बन्ने अवस्था रहेको उनले बताए ।

सम्मेलनमा शनिबार मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंह, कोशी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मधेश प्रदेशका पूर्व अर्थ सचिव किरण रुपाखेती, सजिवन अभियन्ता हेमन्तराज काफ्लेलगायतले सजिवनको फाइदा र यसको खेतीको सम्भाव्यताबारे प्रस्तुतिकरण दिएका छन् ।

सम्मेलनमा सातवटै प्रदेशबाट विद्यार्थी, सजिवन अभियन्ता, व्यवसायीलगायत सहभागी भएका चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साहले बताए । कार्यक्रममा व्यवसायीले सजिवनबाट बनाइएको औषधिजन्य वस्तु बिक्रीका लागि राखेका छन् ।

कार्यक्रमका सहभागीलाई सजिवनको विभिन्न परिकार चखाउने कामसमेत गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।