सुनसरी घटनापछि धार्मिक सद्भाव, सामाजिक एकता तथा आपसी भाइचारा कायम गर्ने उद्देश्यले सर्लाहीको ईश्वरपुर नगरपालिकामा आइतबार बिहान सद्भाव र्‍याली आयोजना गरिएको छ।

सचेत नागरिक तथा विभिन्न सामाजिक अभियन्ताहरूको संयुक्त आयोजनामा सम्पन्न र्‍यालीमा विभिन्न समुदायका नागरिक, सुरक्षाकर्मी, विद्यार्थी, सामाजिक अभियन्ता तथा धार्मिक अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तरधार्मिक सञ्जालका महमुद अन्सारीका अनुसार समाजमा धार्मिक सहिष्णुता कायम राख्दै शान्ति र सद्भावको सन्देश प्रवाह गर्न र्‍याली आयोजना गरिएको हो।

ईश्वरपुरमा आइतबार आयोजित सद्भाव र्‍यालीमा सर्लाही क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य नितिमा कर्की सहित ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज आचार्य, पूर्व सांसद प्रमोद साह, हेल्पिङ ह्यान्ड्सका प्रतिनिधि, सुरक्षाकर्मी, विद्यार्थी तथा विभिन्न धार्मिक समुदायका अगुवाहरू सहभागी भएका थिए

आइतबार बिहान सर्लाहीको सदरमुकाम मलंगवामा पनि यस्तै सद्भाव र्‍याली आयोजना गरिएको थियो। सुनसरी घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा धार्मिक तनाव कम गर्दै सामाजिक सद्भाव र आपसी भाइचारा कायम राख्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना भइरहेका छन्।