काठमाडौं — २९ देखि ३१ साउनका लागि तय भएको कांग्रेस असन्तुष्ट पक्षको भेलालाई पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । कांग्रेसका नेता डा. शशांक कोईरालाले शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् ।

उनले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनको अनुमति दिएकोमा खुशी पनि व्यक्त गरे । नेता कोईरालाले पार्टी पूर्वसभापति शेरबहादुर देउवाका तर्फबाट दायर न्यायिक पुनरावलोकनको निवेदनमा सर्वोच्च अदालतले २१ साउन २०८३ अनुमति प्रदान गरेको जानकारी दिए । उनले अदालतको उक्त निर्णयलाई स्वागत गर्दै आगामी न्याय निरूपणबाट पार्टीले न्याय पाउनेमा आफूहरू विश्वस्त रहेको बताए । सर्वोच्चको पछिल्लो निर्णयले भेलाको कार्यदिशामा कुनै परिवर्तन नल्याउने बरु कार्यकर्ताहरूमा थप उत्साह जगाउने उनको दाबी छ ।

पार्टीको आन्तरिक एकता र भावी कार्यदिशा तय गर्न आयोजना गरिएको राष्ट्रिय भेलाका बारेमा प्रष्ट पार्दै नेता कोईरालाले भने, ‘मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई वैचारिक र सांगठनिक रूपमा एकतावद्ध बनाउन यो भेला कोशेढुङ्गा सावित हुनेछ । पहिले हामीले १० देखि २० हजारको सहभागिता हुने अनुमान गरेका थियौँ तर अदालतको यो निर्णयपछि पार्टी पंक्तिमा सकारात्मक सन्देश गएको छ, जसका कारण भेलामा उल्लेख्य सहभागिता हुने देखिएको छ, । पूर्णजी अस्वस्थ हुनुहुन्छ र शेखर दाइ विराटनगरमा आफ्नै काममा व्यस्त हुनुभएकोले उपस्थित हुन नसक्नुभएको हो तर यो अभियानमा उहाँहरूको पूर्ण समर्थन र ऐक्यवद्धता रहेको छ ।’

२६ साउनमा पूर्वसभापति स्वदेश फर्कने सन्दर्भमा उठाइएका आशंकाहरूबारे बोल्दै उनले कुनै पनि प्रकारको धरपकड हुने सम्भावना नरहेको र यदि त्यसो गरिएमा पार्टीले कडा प्रतिवाद गर्ने बताए । साथै, उनले आफू पूर्वसभापतिलाई भेट्न हङकङ नगएको समेत स्पष्ट पारे । कांग्रेसका भ्रातृ संस्था, शुभेच्छुक तथा सम्पूर्ण कार्यकर्ताहरूलाई भेलामा सहभागी हुन आह्वान गर्दै नेता कोइरालाले राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तमा आधारित भएर पार्टीलाई नयाँ जीवन दिने दृढ संकल्प व्यक्त गरे ।