सप्तरीको राजगढ गाउँपालिका–१, स्थित नहर छेउबाट शुक्रबार राति एक सय ९० किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरिएको छ ।

विशेष सूचनाका आधारमा बोर्डर आउट पोष्ट (बिओपी) बनैनियाँ र नेपाल प्रहरीको संयुक्त टोलीले कजरातर्फ जाने नहर छेउस्थित सिमलीको झ्याङबाट उक्त गाँजा बरामद गरेको हो । उक्त गाँजाको तौल एक सय ९० किलो ५ सय २० ग्राम रहेको छ ।

५ वटा बोरामा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको उक्त गाँजा आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जानकारी दिएको हो ।

यसअघि साउन ६ गते राति पनि हनुमाननगर–रमपुरा मल्हनियाँ हुँदै ३ वटा गाडीमा भारततर्फ गइरहेको ३३ क्विन्टल ३२ किलो गाँजा बरामद गरिएको थियो ।