मधेश प्रदेश संग जोडिएको भारत बिहारको पूर्वी चम्पारणमा सशस्त्र सीमा बल (एसएसबी)ले २२.६८ मेट्रिक टन युरिया मलसहित १२ चक्के ट्रक बरामद गरेको छ।

७१औँ वाहिनी सशस्त्र सीमा बल, मोतिहारीका कमान्डेन्ट प्रफुल्ल कुमारको निर्देशनमा बिहीबार दरपा थाना प्रहरी र कृषि विभाग, छौडादानोको सहयोगमा संयुक्त टोलीले उक्त कारबाही गरेको हो।

गोप्य सूचनाका आधारमा सीमा चौकी कोरैयाबाट खटिएको एसएसबी टोली, दरपा थाना प्रहरी तथा प्रखण्ड कृषि पदाधिकारी, छौडादानोको संयुक्त टोलीले पूर्वी चम्पारणको दरपा थाना क्षेत्रअन्तर्गत बथुआहिया गाउँमा रहेको एउटा गोदाममा छापा मारेको थियो।

जाँचका क्रममा गोदामभित्र २०८ बोरा र गोदामबाहिर पार्किङ गरिएको १२ चक्के ट्रकबाट २९६ बोरा युरिया मल बरामद भएको थियो। प्रत्येक बोरामा ४५ किलो मल रहेको र कुल ५०४ बोरा अर्थात् २२ हजार ६८० किलो ९२२।६८ मेट्रिक टन० युरिया मल बरामद भएको एसएसबीले जनाएको छ।

बरामद मल भारतबाट नेपालतर्फ लैजानका लागि भण्डारण गरिएको हुनसक्ने आशंका एसएसबीले व्यक्त गरेको छ। कारबाहीका क्रममा सम्बन्धित व्यक्ति तथा ट्रक चालक भने घटनास्थलमा उपस्थित थिएनन्। साथै बरामद मलको सम्बन्धमा कुनै वैध कागजातसमेत फेला नपरेको जनाइएको छ।

एसएसबीले युरिया मलसँगै १२ चक्के ट्रकलाई समेत नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि दरपा थाना प्रहरीको जिम्मा लगाएको छ।

कृषि विभागले मुद्दा दर्ताका लागि दरपा थानामा लिखित निवेदन दिएको छ। घटनाबारे थप कानुनी प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।