जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको हो । जनकपुरधामस्थित श्रीराम मन्दिर मरम्मत सम्भार तथा सौन्दर्यकरणका लागि उपमहानगरपालिकाले बजेट छुटयाएपनि रकम भुक्तानी नगरेको कुरा बाहिरिएपछि नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले सोमवार अख्तियारमा उजुरी दर्ता गराएको हो ।

श्रीराम मन्दिर सौन्दर्यीकरण योजनाको सम्झौता, कार्यादेश, निर्माण सम्पन्नता, प्राविधिक परीक्षण तथा करिब रु. २७ लाख ६४ हजार ८१५.०५ भुक्तानीसम्बन्धी प्रक्रिया छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही तथा वैधानिक दायित्व भए भुक्तानीको व्यवस्था गराई दिन उजुरीमा भनिएको छ ।

धार्मिक सम्पदाको सौन्दर्यीकरणका नाममा सञ्चालन गरिएको निर्माण कार्यपछि निर्माण व्यवसायीको रकम भुक्तानी हुन नसकेको र मन्दिरका महन्थ स्वयं व्यापारी तथा साहु–महाजनकहाँ गई चन्दा अथवा सापट माग्नुपर्ने परिस्थिति उत्पन्न भएको भन्ने विषय सार्वजनिक रूपमा उठेकोमा सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन उजुरी दर्ता गराइएको बताइएको छ ।

उपलब्ध सम्झौता–पत्रमा ‘शाक्य मेटल ट्रेडर्स’ प्रथम पक्षका रूपमा तथा मन्दिर/सम्बन्धित उपभोक्ता समितिसँग निर्माण कार्यसम्बन्धी सम्झौता भएको देखिन्छ । सम्झौतामा निर्माण कार्य गराउने, निर्माणको मूल्य तथा भुक्तानीसम्बन्धी प्रावधानहरू उल्लेख गरिएको छ ।

उपमहानगरपालिकाले भुक्तानी नदिएपछि निर्माण कम्पनीले मन्दिरका महन्थ रामगिरीलाई दबाव दिनपछि उनी अहिले व्यापारीको पसल–पसलमा चन्दा वा सापट मागिरहेको कुरा बाहिरिएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।