विश्व अर्थतन्त्रले पछिल्ला ठूला आर्थिक तथा भूराजनीतिक झट्का अपेक्षाकृत रूपमा थेग्दै आए पनि आगामी दिनमा थप संकटको जोखिम बढ्दै गएको छ । महँगो ऊर्जा, बढ्दो ऋण, भूराजनीतिक तनाव र विश्वव्यापी आर्थिक अनिश्चितता एकसाथ बढ्दा आयात र विप्रेषणमा उच्च निर्भर रहेको नेपालको अर्थतन्त्रमा त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर पर्न सक्ने देखिन्छ ।

न्युयोर्क टाइम्सले सेप्टेम्बर १७ मा प्रकाशित गरेको विश्लेषणमा इरान युद्धबाट उत्पन्न ऊर्जा झट्काको सबैभन्दा खराब असर धेरै देशले नियन्त्रण गर्न सफल भए पनि ऊर्जा मूल्य उच्च रहनु र विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु जोखिमपूर्ण रहेको उल्लेख गरेको छ । विश्वव्यापी आर्थिक जोखिमलाई नेपालको आर्थिक संरचनासँग जोड्दा ऊर्जा, विप्रेषण, पर्यटन, लगानी र बाह्य क्षेत्र प्रमुख रूपमा प्रभावित हुन सक्ने देखिन्छ । नेपाल प्रशोधित पेट्रोलियम पदार्थका लागि ठूलो मात्रामा आयातमा निर्भर छ । विश्व बजारमा कच्चा तेल तथा पेट्रोलियम पदार्थको मूल्य बढेमा त्यसको असर नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा मात्र सीमित हुँदैन ।

इन्धन महँगिदा ढुवानी, उद्योग, निर्माण, कृषि तथा दैनिक उपभोग्य वस्तुको लागत बढ्न सक्छ । उत्पादन तथा ढुवानी लागत बढेपछि त्यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा पर्ने भएकाले विश्वव्यापी ऊर्जा संकटले नेपालमा महँगीको दबाब थप बढाउन सक्छ । विश्व बैंकले पनि मध्यपूर्वमा जारी द्वन्द्वबाट नेपालमा पर्न सक्ने प्रमुख प्रभावमध्ये ऊर्जा सुरक्षालाई महत्वपूर्ण जोखिमका रूपमा औँल्याएको छ । नेपालका लागि सबैभन्दा संवेदनशील पक्ष वैदेशिक रोजगारी र विप्रेषण हुन सक्छ । विश्व बैंकका अनुसार नेपाली वैदेशिक श्रमिकमध्ये ७७.३ प्रतिशत मध्यपूर्वमा रहेका छन् । साउदी अरब, कतार र संयुक्त अरब इमिरेट्सबाट मात्रै नेपालको कुल विप्रेषणको करिब ३७ प्रतिशत आउने गरेको छ । मध्यपूर्वमा द्वन्द्व लम्बिएमा त्यहाँको आर्थिक गतिविधि, श्रम माग, रोजगारीका अवसर तथा आप्रवासन नीतिमा परिवर्तन आउन सक्छ।

यसको असर नेपाली श्रमिकको रोजगारी र आम्दानीमा पर्न सक्छ । नेपाल राष्ट्र बैंकले जनाए अनुसार आर्थिक वर्ष २०८२/८३ मा विप्रेषण आप्रवाह २३ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको थियो । यो नेपालको कुल गार्हस्थ्य उत्पादनको ३५.८ प्रतिशत बराबर हो । यसले नेपालको बाह्य क्षेत्र र समग्र अर्थतन्त्रमा विप्रेषणको ठूलो भूमिका रहेको देखाउँछ । तर यही उच्च निर्भरता जोखिमको कारण पनि बनेको छ। विप्रेषणमा आएको ठूलो गिरावटले विदेशी मुद्रा आम्दानी, उपभोग, बैंकिङ प्रणाली र समग्र आर्थिक गतिविधिमा एकैपटक दबाब सिर्जना गर्न सक्छ ।

विश्वव्यापी तथा क्षेत्रीय तनावको अर्को असर नेपालको पर्यटन क्षेत्रमा पर्न सक्छ । मध्यपूर्वका विमान कम्पनीहरूले नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा महत्वपूर्ण हिस्सा ओगटेका छन् । क्षेत्रीय द्वन्द्व लम्बिएमा हवाई उडानको संख्या घट्न, हवाई भाडा बढ्न तथा यात्राको जोखिम बढ्न सक्छ । त्यसको असर नेपाल आउने विदेशी पर्यटक तथा वैदेशिक यात्रामा पर्न सक्ने विश्व बैंकको आकलन छ । पर्यटनबाट प्राप्त हुने विदेशी मुद्रा आम्दानीमा कमी आएमा नेपालको बाह्य क्षेत्रमाथि थप दबाब पर्न सक्छ । उर्जा र कच्चा पदार्थको मूल्य बढ्दा उद्योग तथा निर्माण क्षेत्रको लागत बढ्छ । उत्पादन लागत बढेपछि निजी क्षेत्रको लगानी क्षमता र नयाँ परियोजनाप्रतिको उत्साह प्रभावित हुन सक्छ ।

त्यसैगरी विश्वव्यापी अनिश्चितता बढ् दा लगानीकर्ताले नयाँ लगानीका निर्णय स्थगित गर्ने वा जोखिम कम गर्ने रणनीति लिन सक्छन् । यसको असर रोजगारी सिर्जना, उत्पादन र आर्थिक वृद्धिमा पर्न सक्छ । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित हुन सक्ने प्रक्षेपण गरेको छ । मध्यपूर्वको द्वन्द्व तथा सन् २०२५ सेप्टेम्बरमा भएको अशान्तिको बाँकी प्रभावलाई आर्थिक वृद्धिमा असर पार्ने प्रमुख कारणमध्ये राखिएको छ । नेपालको बाह्य क्षेत्र अहिले ठूलो विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतका कारण तुलनात्मक रूपमा सुरक्षित अवस्थामा छ । यसले तत्काल उत्पन्न हुने बाह्य झट्का थेग्न केही आधार प्रदान गर्छ ।

तर बाह्य क्षेत्रको यो मजबुतीको महत्वपूर्ण आधार विप्रेषण हो । त्यसैले एकै समयमा विश्व बजारमा तेलको मूल्य बढ्ने, विप्रेषण आप्रवाह सुस्ताउने र पर्यटन आम्दानी घट्ने अवस्था आए नेपालको बाह्य क्षेत्र क्रमशः दबाबमा पर्न सक्छ । नेपाल राष्ट्र बैंकले पनि बढ्दो भूराजनीतिक तनावले विश्व व्यापार तथा नीतिगत अनिश्चितता बढाइरहेको उल्लेख गर्दै बाह्य जोखिमप्रति सावधानी आवश्यक रहेको संकेत गरेको छ । विश्व अर्थतन्त्रमा देखिएको जोखिमका कारण नेपालमा तत्कालै ठूलो आर्थिक संकट आउने निष्कर्ष निकाल्नुभन्दा अहिलेको बाह्य सुरक्षा कति दिगो छ भन्ने प्रश्न महत्वपूर्ण देखिन्छ ।

विदेशी मुद्रा सञ्चिति, विप्रेषण र शोधनान्तर स्थितिले तत्कालको झट्का थेग्ने क्षमता दिए पनि अर्थतन्त्रको संरचनात्मक निर्भरता भने कायमै छ । तेलको मूल्य बढ्दा महँगी बढ्ने, मध्यपूर्वमा रोजगारी प्रभावित हुँदा विप्रेषण घट्ने, हवाई सम्पर्कमा अवरोध आउँदा पर्यटन प्रभावित हुने र अनिश्चितता बढ्दा लगानी सुस्ताउने अवस्था एकैपटक आए नेपालको अर्थतन्त्रमा बहुआयामिक दबाब पर्न सक्छ ।