काभ्रेपलाञ्चोकका चार स्थानीय तहले असोज ८ र ९ गते सबै विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन्।

शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख सविता दंगालका अनुसार बनेपा, बेथानचोक, मण्डनदेउपुर र रोशी गाउँपालिकाले वर्षा, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै आफ्ना क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

उनका अनुसार धुलिखेल, पनौती, खानिखोला, तेमाल, नमोबुद्ध, पाँचखाल र चौँरीदेउरालीमा भने सबै विद्यालय बन्द नगरी जोखिमयुक्त विद्यालयलाई आवश्यकताअनुसार बन्द गर्ने अधिकार सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई दिइएको छ । ती पालिकामा जोखिमको अवस्था हेरेर विद्यालय बन्द गर्न सकिने व्यवस्था गरिएको हो ।

उनका अनुसार महाभारत र भुम्लु गाउँपालिकामा भने आज विद्यालय बन्द गरिएको छैन । ती क्षेत्रमा ठूलो वर्षा नभएकाले आज विद्यालय सञ्चालन गर्ने र मौसमको अवस्था हेरेर भोलि आवश्यक निर्णय गर्ने तयारी गरिएको दंगालले बताइन् ।

त्यस्तै, निजी विद्यालयतर्फ प्याब्सन र एनप्याब्सनले विद्यालय बन्द गर्ने निर्णय गरेमा सम्बन्धित स्थानीय तहको निर्णयअनुसार निजी विद्यालयसमेत बन्द हुने उनले जानकारी दिइन् ।