लमजुङ — मनाङमा बाढीले सदरमुकाम चामे बजारका कम्तीमा ४ वटा घर र बजार क्षेत्रका ४ वटा पुल बगाएको छ ।चामेका ठाठो खोलाहरुमा शनिबार राति आएको बाढीले ठाडो लाइनका ४ घर बगाएको हो । केही घरमा समेत क्षति पुगेको छ ।

बाढीले चामे बजारबीच भएर बग्ने घट्टेखोलामा रहेको पुल, कोतोबाट चामे आउने तिर्चुङाल्डाको पुल, नयाँबजारतर्फको पुलसमेत गरी ४ वटा पुल बगाउको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । पुल बगेपछि स्थानीयलाई वारपार गर्न समस्या भएको छ ।

बाढीले हुम्डे क्षेत्रमा लेदोसमेत पसेको जानकारी प्राप्त भएको मनाङ प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार मनाङ मनाङको नासों गाउँपालिकामा सडक तथा झोलुंगे पुल बगाएको छ । सदरमुकाम चामेमा पुल र केही घर बगाएका छन् । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका र नार्पा भूमि गाउँपालिकामा सञ्चार सम्पर्क हुन नसकेको उनले बताए । उनले क्षतिको विवरण प्राप्त हुने चरणमा रहेको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोद बोहराले सडक, पुल, सञ्चार र विद्युतमा समेत क्षति पुगेको बताए । चामेलगायत आसपासका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको उनले बताए ।