मलंगवा, २९,असोज, जाजरकोटको जुन चाँदे गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब २ बजे जुन चाँदे गाउँपालिका–२ र ३ को सिमाना गेरेखेतस्थित भित्री सडक खण्डमा सुर्खेतबाट जुन चाँदे आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा जिप चालक जुन चाँदे गाउँपालिका–९, कल्ली स्यालाका करिब २० वर्षीय सन्तबहादुर बस्नेत र जुन चाँदे गाउँपालिका–३, स्यालाका दिलबहादुर भण्डारीकी श्रीमती करिब ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) बुद्धि सागर पुरीले जानकारी दिए ।उनका अनुसार दुर्घटनामा दिलबहादुर भण्डारी, उनका करिब चार वर्षीय छोरा शिशिर भण्डारी र जुन चाँदे गाउँपालिका–३, स्यालाकी करिब ५० वर्षीया सितला टमटा घाइते भएका छन् ।

घाइते तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी गरिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेको जिप सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।