मलंगवा, कात्तिक, २- काठमाडौँको रानीबारीबाट पार्किङ गरी राखिएको स्कुटर चोरी गरी फरार रहेका दुई जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा संखुवासभाको धर्मदेवी गाउँपालिका–७ घर भई हाल तारकेश्वर नगरपालिका–९ बस्ने २० वर्षीय रविन राई र धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भई हाल सोही स्थान बस्ने ३१ वर्षीय सुनिल खत्री रहेका छन्।

गत असोज १४ गते बिहान १:०० बजेदेखि ५:०० बजेको समयमा काठमाडौँ महानगरपालिका–२६ रानीबारीस्थित रानीदेवी विद्यालय नजिक सडकमा पार्किङ गरी राखिएको बा ९३ प ६९९७ नम्बरको होन्डा डिओ स्कुटर चोरी भएको थियो। घटनाको अनुसन्धान तथा खोजितलास गर्ने क्रममा कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज ३० गते बेलुका तारकेश्वर नगरपालिका–९ स्थित नयाँ बसपार्कबाट चोरी भएको स्कुटरसहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।