मलंगवा, कात्तिक,३-साउदी अरबले मक्कामा एक बंगलादेशी दम्पतीलाई गुपचुप रूपमा मृत्युदण्ड दिएपछि बंगलादेश सरकारले कडा आपत्ति जनाउँदै औपचारिक स्पष्टीकरण मागेको छ।

मस्जिदभित्र अश्लील वा अनैतिक गतिविधि गरेको अभियोगमा गत बुधबार उनीहरूलाई साउदी अरबमा मृत्युदण्ड दिइएको थियो।

बंगलादेश सरकारले आइतबार पत्रकार सम्मेलन गर्दै सजाय कार्यान्वयन हुनुअघि साउदी पक्षबाट कुनै पनि पूर्वसूचना नदिइएको र घटना भइसकेपछि मात्र जानकारी पाएको बताएको छ।

मक्का इस्लाम धर्मको सबैभन्दा पवित्र शहर हो, जहाँ प्रसिद्ध ‘अल-हरम (ग्रान्ड मस्जिद) अवस्थित छ। ‘द डेली स्टार’ को रिपोर्ट अनुसार साउदी अरबस्थित बंगलादेशी दूतावासले जेलमा रहेका आफ्ना नागरिकहरूको सूची माग्दा ती दम्पतीको नाम समावेश गरिएको थियो। तर, उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको वा दिन लागिएको विषय भने साउदी प्रशासनले पूर्ण रूपमा गोप्य राखेको थियो।

बंगलादेशकी वैदेशिक मामिला राज्यमन्त्री शमा ओबैद इस्लामले साउदी सरकारसँग यसबारे आधिकारिक जवाफ मागिएको बताइन्। साउदी अरबको आधिकारिक धारणा आएपछि मात्रै बंगलादेशले भावी कूटनीतिक कदमबारे निर्णय लिने उनको भनाइ छ।

साउदी गृह मन्त्रालयका अनुसार दुवै जनालाई इस्लामिक कानुनको ‘ताजिर’ (न्यायाधीशको विवेकमा आधारित सजाय) नियम अनुसार मृत्युदण्ड दिइएको हो। अभियुक्तहरूले मक्कास्थित मस्जिदको पवित्रता गम्भीर रूपमा उल्लङ्घन गरेकाले कठोर सजाय दिइएको साउदी पक्षको भनाइ छ।

साउदी अरबमा हाल ३० लाखभन्दा बढी बंगलादेशी नागरिक कार्यरत छन्, जसमध्ये ठूलो सङ्ख्या न्यून आय भएका श्रमिकहरूको छ। दुई देशबीच गहिरो धार्मिक र आर्थिक सम्बन्ध रहे तापनि, आफ्ना नागरिकलाई पूर्वसूचना बिना नै मृत्युदण्ड दिइएपछि कूटनीतिक तहमा सूचना आदानप्रदान र कानुनी सहायताको विषयलाई लिएर गम्भीर प्रश्न उठेको छ।

एमनेस्टी इन्टरनेसनलका अनुसार साउदी अरबमा यस वर्ष मात्रै करिब १०० जनालाई मृत्युदण्ड दिइसकिएको छ, जसमा ठूलो सङ्ख्या विदेशी नागरिकको छ। यसअघि सन् २०११ मा पनि इजिप्टका एक नागरिकको हत्या अभियोगमा आठ जना बंगलादेशीलाई रियाधमा सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको थियो।

यसै महिना साउदी अरबले फेसबुक टिप्पणीका आधारमा धर्मको अपमान (ईशनिन्दा) अभियोग लागेका एक श्रीलङ्काली नागरिकको मृत्युदण्ड भने रद्द गरेको थियो। श्रीलङ्कामा व्यापक जनविरोध र तीव्र कूटनीतिक पहलपछि साउदी सरकार पछि हट्न बाध्य भएको थियो।