मलंगवा, कात्तिक,३-  लेन्दे हुँदै भोटेकोशी बाढीका कारण रसुवाका १६३ जना विद्यार्थी र १७ जना सम्पर्कबिहीन रहेका छन्। सबैभन्दा धेरै उत्तरगया गाउँपालिका–५ नीलकण्ठ माविमा अध्यनरत ७१ जना बालबालिका बेपत्ता भएका छन्।

सबैभन्दा धेरै गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय टमुरेका ६ जना शिक्षक बेपत्ता भएका छन्। जिल्ला शिक्षा समन्वय इकाइका सूचना अधिकारी जीवन दाहालका अनुसार बाढीका कारण गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, टमुरेका २५ जना, गोसाइकुण्ड गाउँपालिका–३ स्थित रसुवा लिङलिङ आधारभूत विद्यालयका १ जना, भीमसेन आधारभूत विद्यालयका १ जना, गोसाइकुण्ड गाउँपालिका–५ स्थित कोमिन स्यामेवाङफेल मा.विका ७ जना, सोहि वडा स्थित गोसाइकुण्ड अंग्रेजी बोडिङ स्कुलका १९ जना, गोसाइकुण्ड गाउँपालिका–६ स्थित रसुवा मा.विका ३ जना, सोहि वडा स्थित हाइल्याण्ड आवासीय बोडिङ स्कुलका ९ जना गरी पालिकाका कुल ६५ जना विद्यर्थी बेपत्ता रहेका छन्।

त्यस्तै, उत्तरगया गाउँपालिका–१ स्थित चिप्लेटी आविका १ जना, उत्तरगया गाउँपालिका–२  स्थित डाडागाउँ माविका २ जना, उत्तरगया गाउँपालिका–४ स्थित मालिकादेवी आधारभूत विद्यालयका ११ जना, उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माविका ७१ जना, सोही वडाको बाराही आविका १ जना र मोर्डन ट्रिनिटी इङलिस स्कुलका ११ जना गरी उत्तरगया गाउँपालिकामा कुल ९७ जना विद्यार्थी बेपत्ता रहेका छन्।

कालिका गाउँपालिका–३ स्थित सुन्धारा माविका १ जना सहित रसुवाका कुल १ सय ६३ जना विद्यार्थी बेपत्ता भएका छन्। गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, टमुरेका ६ जना र गोसाइकुण्ड गाउँपालिका–५ स्थित कोमिन स्यामेवाङफेल माविका १ जना गरी ७ जना शिक्षक बेपत्ता भएका छन्। उत्तरगया गाउँपालिका–१ स्थित गणेश आवि र तिरु आविका १/१ जना, उत्तरगया गाउँपालिका–४ स्थित नव विजयी महेन्द्र माविका २ जना, उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माविका ४ जना र मोर्डन ट्रिनिटी इङलिस स्कुलका २ जना गरी कुल १० जना शिक्षक बेपत्ता भएका छन्।

गोसाइकुण्ड र उत्तरगया गाउँपालिकाका गरी रसुवाका कुल १७ जना शिक्षक सम्पर्कविहीन रहेका छन्। एक अभिभावक बेपत्ता भएका २ सय ६८ जना बालबालिकाहरु छन् भने दुवै जना अभिभावक (आमा बाबु) बेपत्ता भएका ६२ जना बालबालिका रहेका छन्।

बाढी प्रभावित केही बालबालिकाले आधारभूत राहत समेत प्राप्त गर्न नसकेको भन्दै दाहालले राहतबाट वञ्चित बालबालिकाहरूको आवश्यकता पहिचान गरेर आवश्यक राहत तथा सहयोगको व्यवस्था गर्नुपर्ने बताए। बाढीमा परेर धेरै विद्यार्थीहरू बचेका अभिभावकहरूसँग अन्यत्र गएका छन्। नजिकै रहेका वा होल्डिङ सेन्टरमा रहेका बालबालिकाको अध्ययापन सुरु गरिएको छ।

उत्तरगया गाउँपालिकाले सूचना प्रकाशन गरेर विद्यालय खुला गरेको छ। मोर्डन ट्रिनिटी स्कुल बगेपछि त्यहाँ अध्ययनरत विद्यार्थीहरू नीलकण्ठ, शिवालय आविमालगायत नजिकका विद्यालयमा पढ्न थालेका छन्। गोसाइँकुण्ड गाउँपालिका–२ मा नेपाल राष्ट्रिय आधारभूत विद्यालयका  धेरै संरचना ध्वस्त भएका छन्। चीन सरकारको सहयोगमा बनेको नयाँ सुविधायुक्त भवन पूर्णरूपमा क्षति भएपछि उक्त विद्यालयमा पठनपाठन कार्य प्रभावित भएको छ।
नेपाल राष्ट्रिय आधारभूत विद्यालय बाहेक अन्य विद्यालयमा पठनपाठन सुरु भएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख दुर्गा सिलवालले बताए।

नेपाल राष्ट्रिय आवि, टमुरेका प्रधानाध्यापक फुर्पु दोर्जे घलेले भने, ‘विद्यालयका २५ जना विद्यार्थी, तीन शिक्षक र तीन शिक्षिका बाढीमा परी सम्पर्कबिहीन भएका छन्। धेरै आफन्त गुमका छन्, बाच्न सफल भएकाहरू पाँच सेकेन्डले मात्रै बाचेका छन्। पुरानै ठाउँमा मान्छे फर्कन चाहेका छन्, उनले भने सरकारले फर्कने वातावरण बनाउनुपर्छ।

नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक पुर्पुदोर्जे घलेका अनुसार गोसाइकुण्ड गाउँपालिका–२, टिमुरे गाउँबस्ती र बजार पुरै ध्वस्त भएको छ।
गाउँका ७७ महिला र ६८ पुरुष गरी १ सय ४५ जना र विभिन्न समयमा बसाइसराइ गरेर आएका ५८ जना समेत गरी २ सय ३ जना सम्पर्कविहीन छन्।
बाढीका कारण गोसाइकुण्ड गाउँपालिकामा सरकारी कर्मचारीहरू, जनप्रतिनिधि  शिक्षक तथा स्थानीय सम्पर्कविहीन छन्। विदेशी नागरिक २ सय ९०, रसुवाका स्थानीय नागरिक २ हजार ६ सय ७४, रसुवा जिल्ला बाहिरका २ हजार ८ सय ३४ जना कर्मचारी, सुरक्षाकर्मी गरी ५ हजार ७ सय ९८ जना सम्पर्कविहीन रहेका छन्। हालसम्म १ हजार ४ सय ६१ जनाको उद्धार भएको छ। जिल्लामा रहेका ९ वटा होल्डिङ सेन्टरमा २ सय ११ जना रहेका छन्।

रसुवामा पक्कीपुल ६, झोलुङ्गे पुल १०, आर्च पुल एक र बेली/ट्रस ब्रिज आठ वटा गरी कुल २५ ओटा पुल पूर्णरुपमा क्षति भएका छन्। विद्यालय र वडा कार्यालयसहित गाउँ खोलाको बगर बनेको छ। नदीमा वारपार गर्न कुनै पनि स्थानमा पुल र सडक छैन। ०७८ सालको जनगणना अनुसार टिमुरे गाउँमा १ सय ६३ घरमा ५ सय ५० जना जनसंख्या रहेको अभिलेख उपलब्ध छ।