मलंगवा, ०५ कात्तिक – झापाको बिर्तामोडस्थित एक ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने चौपायासहित लाखौँ मूल्य बराबरको धनमाल क्षति भएको छ।

आगलागी नियन्त्रणमा आएपछि गरिएको थप अनुसन्धानका क्रममा क्यान्टिनभित्र काम गर्ने गौरीगञ्ज नगरपालिका–२ का ६५ वर्षीय रुद्र बहादुर तामाङको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको छ।

झापाको बिर्तामोड नगरपालिका–२ रामचौक स्थित ध्रुव भट्टराईको जग्गामा निर्मित टिनको छानो भएको घरमा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा बिहीबार बिहान ४:१० बजे विद्युत सर्ट भई आगलागी भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ। सो ग्यारेज बिर्तामोड–४ बस्ने रवि राजवंशीले सञ्चालन गर्दै आएका थिए।

घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी, दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा बिहान ४:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट क्यान्टिनमा रहेका भाँडाकुडा, लत्ताकपडा, ३ थान खसी/बाख्रा तथा नगद रु. १ लाखसहित करिब रु. ३ लाख मूल्य बराबरको क्षति भएको छ।

यस्तै, सोही भवनसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल/टाइल्स गोदाममा समेत सामान्य आगो सल्केको थियो। दमकलले आगो निभाउने क्रममा गोदामभित्र रहेको करिब २०/२५ बोरा सिमेन्ट भिजेर २५ हजार बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ।