मलंगवा, कात्तिक.६-काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ। दसैँका बेला सुनसानप्रायः देखिएका सडकमा शुक्रबारदेखि सार्वजनिक सवारीसाधन र पैदलयात्रुको चहलपहल बाक्लिएको हो।

दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको संख्या यस वर्ष ५ लाख ७६ हजार नाघेको थियो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ५ लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका थिए। उक्त अवधिमा ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत यात्रुहरू उपत्यकाबाट बाहिरिएको ट्राफिक प्रहरीको तथ्यांक छ।

दसैँमा उपत्यका छाड्नेको संख्या ठूलो रहेकाले सडकमा सवारी चाप कम भएको थियो। दसैं मनाएर आफ्नो पेसाव्यवसायका लागि फर्किनेहरुका कारण सडकमा चहलपहल बढ्न थालेको छ। सार्वजनिक सवारीसाधनमा यात्रुको चाप पनि बढेको छ।