नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नागरिकको चाहनालाई बुझ्ने नेतृत्व आवश्यक रहेको बताएका छन् ।

सर्लाहीको हरिवनमा आज पार्टीको जिल्ला भेला एवं हरिवन नगर कमिटीको पार्टी कार्यालय उद्घाटन समारोहलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले देशमा नागरिकको चाहना बुझ्ने शासकको खाँचो औँल्याएका हुन् । शासन, सत्तामा बस्ने व्यक्तिले जनताको समस्या, बेदना र चाहना नबुझे जनताको आक्रोशको शिकार बन्न सक्ने उनको भनाई छ ।

बंगालदेश, श्रीलंकाजस्ता देशको घटनाले खतराको संकेत गरेको उनले बताए । वर्तमान अवस्थामा जनताको पीडालाई बुझेर देश विकासको कामलाई अघि बढाउन सक्ने नेतृत्वको अभाव खड्किएको उनले बताए ।

देशका अधिकांश युवा उच्च शिक्षा र रोजगारीका लागि बिदेश नै पलायन हुनुपर्ने अवस्था रोक्न नसके सामाजिक सँस्कृतिमा अझ बिकराल समस्या सिर्जना हुने पूर्व प्रधानमन्त्री नेपालको भनाई छ । देशको वर्तमान नीति र नेतृत्वको कमजोरीले युवालाई वैदेशिक रोजगारमा पठाउने र ठगीमा पर्ने परिपाटीमा साथ दिइरहेको उनले बताए ।

देशमा रोजगारी र उत्पादन बढाउन सरकार गम्भीर बन्न नसकेको उनले आरोप लगाए । खाद्यान्न, फलफूल, माछा, मासुलगायत कृषि क्षेत्रमा प्रशस्त उत्पादन गर्ने सम्भावना हुँदाहुँदै युवा पुस्तालाई खाडी जान बाध्य पारेर राज्यबाट एक प्रकारले शोषण गर्ने काम भइरहेको पूर्व प्रधानमन्त्री नेपालको तर्क छ ।

यहाँ हाम्रो खेतबारी बाँझो राखेर भारतलगायत अन्य देशबाट खाद्यान्न भित्र्याउनुपर्ने पीडादायी बाध्यता नै देशका लागि दुर्भाग्य बनिरहेको उनले बताए । एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले पार्टीका नेता कार्यकर्तालाई जनताको दुःख, पीडामा साथ, सहयोग दिने प्रवृत्तिको विकास गर्न आग्रह गरे ।

उनले काठमाडौँ, प्रदेश सदरमुकाम र जिल्ला सदरमुकाममा बसेर ठूला कुरा गर्दैमा नागरिकको सेवा गर्न नसकिने बताए । पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा तत्कालिन परवानिपुर गाविसका अध्यक्ष पूर्णबहादुर गोलेसहित विभिन्न पार्टीबाट नेता, कार्यकर्ता समाजवादीमा प्रवेश गरेका पार्टीकी नेतृ एवं मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीले जानकारी दिईन् ।