हरिवन नगपालिका-११ मा प्रधान कार्यालय रहेको मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाले आइतबार संस्थाकाे २५ औँ स्थापना दिवस (रजत जयन्ती) तथा १९ औं वार्षिक साधारण सभा मनाएको छ ।

हरिवन नगरपालिका-१, भाेक्टेनी स्थित संस्थाद्वारा संचालित आवासीय विद्यालय परिसरमा आयोजित कार्यक्रममा मनाेकामना सहकारी पत्रकारिता पुरस्कारबाट यस उज्यालाे अभियान मिडिया ग्रुप तथा सामुदायिक रेडियाे एकता लालबन्दीका समाचार संयाेजक एवं गाेरखापत्र दैनिकका समाचारदाता जनार्जन खत्रीलाई पाँच हजार नगद सहित सम्मान गरिएकाे छ । त्यस्तै संस्थाका ७० जना संस्थापक शेयर सदस्यहरू, उत्कृष्ट कर्मचारी, उत्कृष्ट काराेबार गर्ने शेयर सदस्य, उत्कृष्ट बाल बचत, उत्कृष्ट ऋणि लगायतलाई प्रशंसा पत्र सहित सम्मानित एवं पुरस्कृत गरिएको संस्थाका उपाध्यक्ष कृष्ण ओम पाेतले जानकारी दिए ।

संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ४८ करोड ४५ लाख ८२ हजार ३८६ रुपैयाँ कारोबार गरी ८१ लाख ३४ हजार ९८० रुपैयाँ दुई पैसा मुनाफा आर्जन गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । संस्थाले यसवर्ष ११ प्रतिशतका दरले शेयर लाभांश वितरण गर्ने भएकाे छ । संस्थामा हाल दुई हजार ६३२ जना शेयर सदस्य रहेका छन् ।

संस्थाका अध्यक्ष तथा पूर्व राज्य मन्त्री शम्भुलाल श्रेष्ठकाे अध्यक्षता एवं हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यता रहेकाे सभा उदघाटन समाराेहमा नृत्य लगायत साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएकाे थियाे । रमेश चाैलागाईंले सञ्चालन गरेकाे कार्यक्रममा हरिवन-२ का वडाध्यक्ष अर्जुन याेञ्जन, विभिन्न राजनैतिक दलका नेता, सहकारीकर्मी, संचारकर्मी लगायतकाे आतिथ्यता रहेकाे थियाे ।