प्रचलित कानून बमोजिम तथा सम्बन्धित निकायको अनुमतिमा काठमाडौं महानगरपालिकाका विभिन्न वडाहरूमा कवाड व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूको संगठन कवाड व्यवसायी समाज नेपालले नेपाल सरकारका गृह मन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएको छ। कानून बमोजिम स्थापना भई सञ्चालनमा रहेका कवाड व्यवसायमा कानुनी समस्या, प्रशासनिक झन्झट, र अवैध गतिविधिबाट सिर्जित चुनौतीहरूको समाधानका लागि ध्यानाकर्षण गराउँदै समाजले यो ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा कवाड व्यवसायले देशको स्रोत पुन: प्रयोगमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका कारण यस व्यवसायलाई व्यवस्थित ढंगले सञ्चालनका लागि सरकारको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ। साथै, पर्यावरण सरसफाइमा कवाड व्यवसायको भूमिकालाई कदर गर्दै यस क्षेत्रमा सरकारबाट थप सहजीकरणको माग गरिएको छ।

कवाड व्यवसायी समाजका अध्यक्ष राम केवल गुप्ताद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा अवैध कवाड संकलन, स्थानीय तहसँग समन्वयको अभाव, र व्यवसायिक सुरक्षाका लागि नीति निर्माणको माग गरिएको छ। ज्ञापनपत्रमा यस विषयलाई प्राथमिकतामा राखेर तत्काल समस्या समाधान गर्न नेपाल सरकारका गृहमन्त्री रमेश लेखक सँग आग्रह गरिएको छ।

समाजले कवाड व्यवस्थापन व्यवसायलाई सहजीकरण गर्नुपर्ने माग राख्दै, यस क्षेत्रमा रहेका चुनौती समाधानका लागि तत्काल पहल गर्न सरकारलाई आह्वान गरिएको नेपाली काङ्ग्रेस सर्लाही जिल्ला कार्यबाहक सभापति सरोज कुमारले जानकारी दिनुभएको छ ।